सुर्खेतको गुर्भाकोटमा सशस्त्रको शिक्षालय निर्माण हुँदै

प्रारम्भिक पूर्वाधार निर्माण कार्य तीव्र

स्काई न्यूज /मंसिर २९, सुर्खेत ।
सुर्खेतको गुर्भाकोटमा सशस्त्र प्रहरीको शिक्षालय निर्माण हुने भएको छ । शिक्षालय निर्माणका लागि अहिले प्रारम्भिक पूर्वाधार निर्माणका कार्यहरु तीव्र पारिएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१०, लौरेदमारमा त्यहाँको स्थानीय सरकारले शिक्षालय खोल्नका लागि २४ विघा सामुदायिक वनको जग्गा उपलब्ध गराएको छ । देश संघीय संरचनामा गएसँगै सशस्त्र प्रहरीले आफ्नो संगठनलाई त्यहीं अनुरुप कर्णाली प्रदेशमा विस्तार गर्न लागेको हो । देशका अन्य प्रदेशमा सशस्त्र प्रहरीको शिक्षालय रहेपनि कर्णाली प्रदेशमा हालसम्म बन्न सकेको छैन् । सशस्त्रले नागरिकको त्यहीं अनुरुपको आवश्यकतालाई परिपूर्ति गर्न शिक्षालय निर्माणका लागि गुभाकोट नगरपालिका रोजेको हो । गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले सशस्त्र प्रहरीको शिक्षालय निर्माणका लागि निशुल्क २४ विघा जग्गासँगै साढे १८ लाख रुपैयाँको व्यारेक भवन निर्माण कार्य शुरु भएको जनाए । उनले गुर्भाकोट जस्तो पिछडिएको क्षेत्रमा सशस्त्र प्रहरीको शिक्षालय निर्माणबाट यहाँको आर्थिक तथा सामाजिक स्तरबृद्धि हुनुका साथै प्रदेशकै गौरव बढ्ने बताए । ‘देशका अन्य प्रदेशमा सशस्त्र प्रहरीको शिक्षालय स्थापना भएपनि कर्णाली प्रदेशमा हालसम्म बन्न सकेको छैन्,’ उनले भने, ‘सशस्त्रले गुर्भाकोटमा शिक्षालय निर्माण गरेपछि यहाँबाट उत्पादित सुरक्षाका दक्ष जनशक्ति देशैभरी पुग्ने हुँदा हाम्रा लागि त्यो गौरवको कुरा हुनेछ ।’ उनले सशस्त्रको शिक्षालय निर्माणका लागि हाल प्रारम्भिक पूर्वाधार कार्य शुरु भएपनि आधिकारिकता संघीय सरकारको क्याविनेटले तय गर्ने बताए ।

उनका अनुसार नगरपालिका सशस्त्रको शिक्षालय निर्माणका लागि थप सक्दो सहयोग गर्न तयार छ । हाल लौरेदमारमा गत असोज २५ गतेदेखि सशस्त्र प्रहरी निरीक्षक कमल थानीको नेतृत्वमा २५ सदस्यीय अस्थायी बेश क्याम्प निर्माण गरिएको छ । सशस्त्रको शिक्षालय निर्माणका लागि गुर्भाकोटको भेरी सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको हो । यता गुर्भाकोटका स्थानीय बासिन्दा एवं नेपाली काँग्रेस सुर्खेतका कोषाध्यक्ष अन्नत पौडेलले गुर्भाकोटमा सशस्त्रको शिक्षालय निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएको बताए । उनले शिक्षालय निर्माणका लागि संघीय सरकारले समेत छिटो कानूनी प्रक्रिया  टुङ्ग्याउनु पर्ने औल्याए । उनका अनुसार सरकारको क्याविनेटबाट जग्गा नामसारीसँगै शिक्षालय निर्माणलाई अन्तिम स्वीकृत गर्न बाँकी रहेको छ । यसैवीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा, महेश्वरी बाहिनीका निमित्त बाहिनीपति अवि खत्री, रक्तकालि गणका गणपति विग विजय सुवेदी, गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्री, स्थानीय जनप्रतिनिधिसँगै राजनीति दलका प्रतिनिधिको एक टोलीले सोमबार गुर्भाकोटको लौरेदमारमा सशस्त्रको निर्माधिन शिक्षालयको प्रारम्भिक पूर्वाधार कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा एआईजी थापाले स्थानीय नागरिकको चाहना र भावनालाई ध्यानमा राख्दै लौरेदमारमा शिक्षालय निर्माणका लागि आवश्यक प्रक्रिया छिटो शुरु गराउन पहल गरिने बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न तीनै तहको सरकारसँग सहकार्य गरेर सशस्त्र प्रहरी अघि बढिरहेको जनाए । देशको सबृद्धिका लागि शान्ति सुरक्षाको क्षेत्रमा संगठन विस्तारसँगै सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका समेत खेलिरहेको उनको भनाइ थियो ।

Translate »