नलसिंहगाड जलविद्युत आयोजनाको बाँधस्थल जोड्ने पहुँच मार्ग सम्पन्न

बारेकोट गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै यातायातका सवारी साधन सञ्चालन


बद्री पन्त /मंसिर २५, सुर्खेत ।
कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको नलसिंहगाड जलविद्युत आयोजनाको बाँधस्थल पहुँच मार्ग निर्माण कार्य पुरा भएको छ । जाजकोटको नलगाडमा बन्न लागेको ४ सय १७ मेगावाट क्षमताको महत्वकांक्षी जलविद्युत आयोजनाको पहिलो चरणमा बाँधस्थल पहुँच मार्ग निर्माणको कार्य अघिल्लो साता पुरा भएको हो । आयोजनाले पहिलो चरणमा बाँधस्थल जोड्ने ११ किलोमिटर बाँधस्थल पहुँच मार्गको निर्माणसम्पन्न गरेसँगै सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएका छन् । आयोजनाले नलगाड नगरपालिका–६, कालिमाटिदेखि बारेकोट गाउँपालिका–८, सक्ला लैखम अँधेरी खोलासम्म सडक निर्माण गरेको हो । ‘कडा चट्टानलाई बलास्टिङ्ग माध्यमले तोडेर ११ किलोमिटर लामो बाँधस्थल पहुँच मार्ग निर्माण गरिएको छ,’ सडक निर्माण कम्पनीका प्रतिनिधि रत्न खड्काले भने, ‘बाँधस्थल पहुँच मार्गको काम सकिएपनि खारा खोलामा पक्की पुल निर्माण कार्य बाँकी रहेको छ ।’ उनले केही दिनमै पुल निर्माण कार्यलाई समेत तीव्रता दिईने जनाए । बाँधस्थल पहुँच मार्ग निर्माणको जिम्मा लामा÷खड्का कृष्ण÷गाल्भा जेभी कन्ट्रक्सन प्रालिले पाएको थियो । करिब ४४ करोड रुपैयाँ लागतको उक्त बाँधस्थल पहुँच मार्ग निर्माण कार्य ३ वर्षमा पुरा भएको हो । पहँच मार्ग निर्माण भएसँगै बारेकोट गाउँपालिकाका करिब २५ हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । सडक बनेसँगै सक्ला, नायकबाडा, रोकायगाउँ, रामीडाँडा र लहँका स्थानीयलाई सदरमुकाम खलंगा, दल्ली, कालिमाटिलगायतका बजारतर्फ आवतजावत गर्न सहज भएको छ ।

आयोजनाले सडक बनाएपछि गाउँमा दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न सहज भएको बारेकोट गाउँपालिका–८, का वडासदस्य मानबहादुर सिंहले बताए । उनले बाँधस्थल पहँुच मार्ग निर्माणले अब आयोजना तोकिएकै समयमा बन्ने सम्भावना बढेर गएको जनाए । ‘सडक सञ्जाल नजोडिएको बारेकोट गाउँपालिकालाई आयोजनाले सडक सञ्जालसँग जोडि दिएको छ,’ उनले भने, ‘दुई÷तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यतालाई सडक बनेपछि विहान गएर बेलुका फर्किने गरि दुरी छोट्टिएको छ ।’ उनले बारेकोटका दुर्गम गाउँहरु सडक सञ्जालसँग जोडिएसँगै ढुवानी गर्न सहज हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य समेत सस्तिएको जनाए । उनका अनुसार भौगोलिक विकटता, गरिवी र सधैं खाद्य संकट व्यहोरिरहेको बारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यन्न ढुवानी धेरै सहजता आएको छ । ‘पहिले मान्छे हिड्नलाई साँघुरो बाटो थियो । सामान ओसार पसार गर्न धेरै अफठ्¥यारो हुन्थ्यो,’ बारेकोट–८, लैखमका हरिबहादुर खत्रीले भने, ‘यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौं । यातायातको पहुँच पुग्यो, हामी निकै खुसी छौ ।’ उनले आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वषौंदेखिको सपना आयोजनाले पुरा गरि दिएको बताए । उनका अनुसार अहिले कालिमाटिदेखि बारेकोट लिम्सासम्म यातायातका साधन निर्वाधरुपले दैनिक ओहोरो–दोहोरो गरिरहेका छन् । ‘कडा चट्टानका कारण अफठ्¥यारो पैदल बाटोलाई आयोजनाले चौडा बनाएर मोटर गुड्ने सडक बनाई दिएपछि बारेकोटबासीलाई धेरै सहज भएको छ,’ स्थानीय लालबहादुर खत्रीले भने, ‘सडक निर्माणसँगै बारेकोटसम्म दैनिक उपभोग्य सामग्री ढुवानीसँगै आवात जावत गर्न निकै सहज भएको छ ।’ उनले पहँच मार्ग निर्माण भएसँगै आयोजना निर्माण कार्यले गति लिने उम्मिद बढेको बताए । हाल जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटि, सिर्के, सक्ला, लिम्साहुँदै घाट बजारसम्म नियमित यातायातका सवारी साधन सञ्चालनमा आएका छन् ।

Translate »