सुर्खेत मोडेल कलेजका छात्र गणेश ढकाल नेपालमै प्रथम

‘नेपाल बैंक लिमिटेड छत्र बहादुर’ पदकबाट सम्मानित हुँदै


स्काई न्यूज /मंसिर २३, सुर्खेत ।
सुर्खेतका गणेश ढकाल नेपालमै प्रथम भएका छन् । त्रिभुवन विश्वविद्यालयले २०७५ सालमा वीवीएस तर्फ लिएको परीक्षामा सुर्खेत मोडेल कलेजका छात्र ढकालले नेपालमै प्रथम स्थान हासिल गरेका हुन् । त्रिविले स्नातक (वीवीएस) विशिष्ट श्रेणीबाट उर्तिण ढकाललाई ‘नेपाल बैंक लिमिटेड छत्र बहादुर’ पदकबाट सम्मान गर्न लागेको छ । शैक्षिक शत्र २०७२–२०७५ व्याचका प्रतिभाशाली छात्र ढकालले स्नातक (वीवीएस) तर्फ ७५ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणी हासिल गरेका हुन् । जिल्लाको भेरीगंगा नगरपालिका–८, का स्थायी निवासी ढकाल हाल सरकारी जागिरेसँगै स्नातकोत्तर (एमवीएस) मा अध्ययनरत छन् । बाल्यकालदेखि नै पढाईमा अब्बल हुँदै आएका ढकालले त्रिविले सम्मान गर्न लागेको प्रति खुशी व्यक्त गर्दे स्काई न्यूजसँग भने, ‘भगवानको घरमा देर हुन्छ, अँधेर हुँदैन’ । यो नतिजा अलि पहिले नै आउनु पथ्र्यो । तर ढिलो आएपनि दुरुस्त आयो । मलाई त कलेजले साविकको मध्य तथा सुदूरपश्चिम फस्र्ट भनेको थियो । तर अहिले त्रिविले त देशकै प्रथम भनेपछि उम्दा खुशी छु ।’ उनले मोडेल कलेजका शिक्षक, विद्यार्थी साथीभाई तथा अभिभावकको सहयोग, सद्भाव तथा आर्शिरवाबाटै देशमै प्रथम स्थान हासिल गर्न सफलता भएको बताए ।

‘राम्रो नम्वर र सरकारी जागिर खानका लागि राजधानी जस्ता ठूला शहरमै पढ्नु पर्छ भन्ने रहेनछ,’ उनले भने, ‘साना–साना मेहनतले पनि सुर्खेत जस्ता साना शहरमा बसेर ठूलो सफलता हात पार्न सकिन्छ भन्ने शिक्षा यो सफलताबाट प्राप्त भयो ।’ उनका अनुसार लक्ष्य निश्चित भएपछि निरन्तर मेहनतसँगै दृढ ईच्छाशक्तिले जुनसुकै परिस्थितिमा सफलता सहजै हात पार्न सकिन्छ । यता गणेश ढकालको सफलताबाट मोडल कलेज व्यवस्थापन समितिसँगै शिक्षक, विद्यार्थी तथा अभिभावकमा खुशी छाएको छ । कलेजका प्रिन्सिपल गणेश आचार्यले ढकालको सफलता कलेज र जिल्लाका लागि मात्र होइन देशकै लागि भएको बताए । उनले अनुशासित, ईमानदार र मेहनती ढकालको सफलता कलेजका अन्य विद्यार्थीका लागि समेत प्रेरणाको स्रोत भएको जनाए । ‘कलेज ढकालको थप उत्तरौंत्तर प्रगतिको कामना गर्छ,’ उनले भने, ‘ढकालको सफलता भित्र कलेजको सफलता लुकेकाले थप गुणस्तरीय शिक्षणका लागि हामी निरन्नतर प्रयासरत छौं ।’ उनले ढकालको सफलताले मोडल कलेजलाई समेत देशव्यापी चिनाएको प्रति गौरवान्वित बनाएको जिकिर गरे ।

Translate »