गुराँस मार्गले जोड्यो सबै वडा

मंसिर २१,दैलेख ।
दैलेखको गुराँस गाउँपालिकाले ‘गौरव मार्ग’ नाम दिएर सबै वडालाई जोड्ने सडकको विकास गरेको छ । अहिले उक्त सडकको पहिलो चरणको काम करीब अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको १ नम्बरदेखि ८ सम्मका विभिन्न भागलाई सडकले जोड्ने योजना गाउँपालिकाको छ ।हालसम्म ६० किलोमिटर ट्र्याक खोल्ने काम सकिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । यो सडकले गाउँपालिकाको आर्थिक गतिविधिलाई चलायमान गराउन सहयोग हुने अपेक्षा गरिएको उनले बताए । करीब रू। ३ करोड लागतमा ट्र्याक खोल्ने काम सकिन लागेको उनको भनाइ छ । सडक निर्माणले गाउँपालिकाको सबै वडाका जनतालाई लाभ मिल्ने भन्दै उनले अबको ५ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य लिइएको उनले बताए ।

उनका अनुसार वडा नं ६ को पिलाडीदेखि गोगनपानीका केही भाग जोड्न मात्र बाँकी छ । अबको केही समयमै त्यो काम पनि सम्पन्न हुन्छ । स्थानीय तह बनेपछि मुख्य एजेण्डा नै बनाएर सडकको विकास गरिएको ओलीले बताए । सडक निर्माणका लागि गाउँपालिकको २ करोड र प्रदेश सरकारको १ करोड रकम खर्च भएको छ । चालू आर्थिक वर्षमा सडकको स्तरोन्नतिका लागि संघीय सरकारले रू. २ करोड पठाएको गाउँपालिकाले बताएको छ । सडकले पातलखोला, पातिकाल्ना, घोडावास गोगनपानी सानकाडा बगौरा पिलाडी जोरेवाझ गर्चा हुँदै धरमपोखरा लगायका मुख्य–मुख्य स्थानलाई समेटेको छ । वडा नंं ८ का अध्यक्ष हिमबहादुर ओलीले सडकले कृषि क्षेत्रलाई थप टेवा पुग्ने बताए । पालिकाका करीब २०० कृषक तरकारीखेतीबाटै आत्मनिर्भर बनेका छन् । सडक निर्माणले उत्पादित कृषि वस्तुको बजारीकरणमा सहज हुने आशा गरिएको उनको भनाइ छ ।

Translate »