राँचुली गाउँमा आगलागीबाट ७६ लाखको क्षति

सागर परियार / मंसिर १४,जुम्ला ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा ७६ लाख बराबरको क्षति भएको छ । शनिबार राँचुली गाउँको दलित बस्तीमा आगलागी भएको थियो । आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का अनुसार ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भएको छैन । भने, दुई गाईको मृत्यु र एउटा घाईते भएको छन् । स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाईपबाट निस्केको आगोको झिल्कोले विककै घर संग जोडिएका १३ जनाको घरमा आगलागी भएको छ ।

१३ घरमा आगलागी भएपनि पुर्ण क्षति ३ वटा घरमा भएको छ । भने, अन्यघरको काठ तथा खरको छानामा आगलागी भएपछि १३ घरपरिवार अहिले विस्तापित भएका छन् । अहिले तत्काल छिमेकीहरुको घरमा व्यवस्थापन गरिएको छ । केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनस्र्थापन गरिने तिलागुफा नगरपालिकाका नगरप्रमुख रत्नबहादुर शाहीले बताए । दलित बस्तीमा आगलागी भएको खबर पाउने बित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकोप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुग्नुभएको थियो । आगलागीबाट घर बासविहिन भएका १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुडा र केही खाद्यान्न उपलब्ध गराईएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए।

Translate »