कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० दिनदेखि तालाबन्दी

सागर परियार / मंसिर ७,जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी भएको ४० दिन पुगेको छ । उपकुलपतिलगायत पदाधिकारीले नै चाँसो नदिँदा प्रतिष्ठानको प्रशासन तथा शैक्षिक प्रशासनका सबै कामकाज ४० दिनदेखि ठप्प छन् । प्रतिष्ठानका उपकुलपति प्रा।डा।राजेन्द्रराज वाग्लेले गएको असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा अनियमित तबरले नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि प्रतिष्ठानमा तालाबन्दी भएको हो । उपकुलपति प्रा.डा.वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई गरेको र फेरि पनि तेस्रो डिनका रूपमा असोज २६ मा मुनिराज क्षेत्रीलाई नियुक्ति गरेका थिए । दुईवटा डिनले काम नपाइरहेको अवस्थामा एकल निर्णयमा अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पार्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ ।

तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उपकुलपतिकै लापरबाही र ढिलासुस्तीले प्रतिष्ठानका कर्मचारीले भने तिहारमा समेत तलब खान नपाएको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त गौतमले बताए । उनका अनुसार कल्याणकारी समाजले उपकुलपतिले नियुक्त गरेका तेस्रो डिन फिर्ता लिनुपर्ने माग गरेको छ । डिनसहित राखिएका मागबारे छलफल गर्न उपकुलपति प्रा।डा। वाग्लेले खटाएको प्रतिष्ठान प्रतिनिधिमण्डलले कल्याणकारी समाजसँग पटक–पटक वार्ता गरे पनि त्यसको उचित निकास निस्कन सकेको छैन । प्रतिष्ठान केन्द्रीय कार्यालयमा दुई साताअघि पुग्नुभएका उपकुलपति प्रा.डा.वाग्ले समाजसँग आफैँ बसेर निकास निकाल्ने, तालाबन्दी खोल्ने र शैक्षिक तथा प्रशासनिक अस्तव्यस्ततालाई सुल्झाउन रत्ति पनि चासो नदेखाएको आरोप कर्मचारीले लगाएका छन् ।

यता नेपाल पत्रकार महासङ्घ जुम्लाले उपकुलपति प्रा.डा. वाग्ले स्वयं केन्द्रीय कार्यालयमा पुगेको दुई साता बढी भइसक्दा पनि प्रतिष्ठानमा ४० दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाएको र यहाँ कार्यरत ३५० कर्मचारीलाई तिहारजस्तो समयमा तलब खानबाट बञ्चित गराएको भन्दै ध्यानाकर्षण गरेको छ । प्रतिष्ठानको उपकुलपतिले पत्रकारहरुको फोन नउठाउने, काट्ने हर्कत गर्दै सूचना लिने अधिकारबाट बञ्चित गरेको भन्दै तीनरतीन जना डिन नियुक्तिले प्रतिष्ठानलाई भर्तिकेन्द्र बनाउने र आर्थिक व्ययभार पार्ने कुराले ध्यानाकर्षण भएको महासङ्घका अध्यक्ष बरमबहादुर महतले बताए । यसबारे उपकुलपति प्रा.डा वाग्लेलाई बारम्बार फोन गरे पनि उठ्न सकेन । कार्यवधि सकिनै लाग्दा उपकुलपति बाग्लेले प्रतिष्ठानमा मनपरी गर्न खोजेको जुम्लाबासीको आरोप छ ।

Translate »