अझै साटिएन प्रतिबन्धित भारु

प्रधानमन्त्रीको अनुरोधलाई पनि भारतले बेवास्ता गर्यो

मंसिर ३,काठमाडौँ ।
नेपालसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै आएको दाबी गर्ने भारतले चार वर्ष बितिसक्दा पनि नेपालको बैंकिङ प्रणालीमा रहेका पुराना भारु नोट साट्नेतर्फ भने चासो देखाएको छैन । भारत सरकारले कालो धन र नक्कली मुद्रा नियन्त्रण गर्न भन्दै २३ कात्तिक २०७३ मा त्यति बेला प्रचलनमा रहेका भारु ५ सय र १ हजार दरका नोट खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको पनि चार वर्ष बितिसकेको छ । तर नेपाल राष्ट्र बैंकले संकलन गरेको करिब ५ करोड भारु अझै सटही हुन सकेको छैन । ‘प्रचलनमा नरहेको करिब ५ करोड भारु नोट साट्न बाँकी छ,,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । तर सबै निकायसँग रहेको भारु संकलन गर्दा करिब ५ करोड जम्मा भएको छ । यसबीचमा सम्बन्धित निकायले विभिन्न माध्यममार्फत केही भारु सटही गरिसकेका छन् ।

यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । नोटबन्दीलगत्तै भारत सरकारले नेपालमा सर्वसाधारणसँग भएका भारु नोटसमेत साटिदिने आश्वासन दिएको थियो । तर पछि नोट वैध र अवैध छुट्याउने प्रणाली र संयन्त्र नेपालसँग नभएको भन्दै नोटबन्दी लागू हुँदाका बखत वित्तीय प्रणालीमा रहेका प्रतिबन्धित नोट मात्र साटिदिने बताएको थियो । भारु सटहीका विषयलाई केन्द्रीय बैंकदेखि प्रधानमन्त्री तहबाट समेत उठाइँदै आएको छ । पहिलो पटक नोटबन्दीलगत्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मोदीलाई ५ सय र हजारका भारु सटही गरिदिन आग्रह गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ मा भारत भ्रमणमा जाँदा भारतीय प्रधामन्त्रीसमक्ष समेत भारु नोट सटही विषयलाई सम्बोधन गरिदिन अनुरोध गरेका थिए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गत वर्ष इन्डिया इकोनोमिक समिटमा सहभागी हुन दिल्ली गएका बेला भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा पनि भारु नोटको विषय उठाएका थिए ।

मन्त्री सीतारमणले त्यस विषयमा आफूले बुझ्ने जवाफ दिएकी थिइन् । तर पनि भारु नोट साट्ने सम्बन्धमा भारतले चासो देखाएको छैन । नोट सटही सम्बन्धमा भारतको केन्द्रीय रिजर्भ बैंक (आरबीआई), नेपाल राष्ट्र बैंकका उच्च अधिकारी र प्राविधिक टोलीले थुप्रै पटक ओहोरदोहोरसमेत गरिसकेका छन् । तर पनि कुनै ठोस प्रगति भएको छैन । भारु नोटका सम्बन्धमा दुवै देशका केन्द्रीय बैंकबीच संवाद भए पनि कुनै निष्कर्ष नआएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए । ‘बीचमा नोट साट्ने विषयमा पटकपटक संवाद पनि भएका थिए । तर निष्कर्षमा नपुगेपछि त्यसमा कुनै प्रगति भएन,’ उनले भने । भारतले पुराना प्रतिबन्धित नोट नसाटेका कारण नेपाल राष्ट्र बैंकले सयभन्दा माथिका भारु नोटमाथिको प्रतिबन्ध कायम राखेको छ । जसका कारण भारतमा प्रचलनमा ल्याइएका ५ सय र २ हजारका नयाँ नोट नेपालमा कारोबार गर्न पाइँदैन । पुराना नोट नसाटेसम्म नयाँ नोटको प्रयोग खुला नगर्ने अडानमा राष्ट्र बैंक छ । त्यसबाहेक नेपाली पक्षले भविष्यमा कुनै पनि अवस्थामा प्रचनलमा रहेका भारु नोट साट्ने प्रतिबद्धता भारतले जनाउनुपर्ने सर्तसमेत राखेको थियो । त्यसमा पनि भारतले प्रस्ट जवाफ दिएको छैन । चार वर्षअघि आकस्मिक रूपमा गरिएको नोटबन्दीको उक्त निर्णयका कारण भारतमा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको थियो ।

सरकारले प्रतिबन्ध लगाएका नोट साट्नका लागि समयसीमा तोकेका कारण बैंकहरूमा सर्वसाधारणको लामो लाइन लागेको थियो । जसले गर्दा उनीहरू घन्टौं लाइनमा लाग्न बाध्य भएका थिए । उक्त निर्णयको असर भारतीय अर्थतन्त्रमा पनि देखिएको थियो । नोटबन्दीकै कारण भारतीय अर्थतन्त्रको वृद्धिदर १.६ प्रतिशतले घटेर चार वर्षकै सबैभन्दा न्यून अर्थात् ६.७ प्रतिशतमा सीमित भएको थियो । जब कि जनसाधारणले सास्ती बेहोर्नुपरे पनि उक्त निर्णयले प्रचलनमा रहेको करिब ३ लाख करोड भारु बराबरको ‘कालो धन’ फिर्ता नआउने र त्यति नोट रद्दी सावित हुने दाबीसमेत भारत सरकारको थियो । तर सरकारको उक्त दाबीविपरीत प्रचलनमा रहेको अधिकांश नोट बैंकिङ प्रणालीमै फर्किएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले चर्को आलोचनाको सामना गर्नुपरेको थियो । विपक्षीहरूले अझै पनि नोटबन्दीको निर्णयलाई लिएर सरकारको विरोध गर्दै आएका छन् । आरबीआईद्वारा सार्वजनिक प्रतिवेदनले भने पुराना ५ सय र हजारका नोटमध्ये ९९।३ प्रतिशत नोट फिर्ता भइसकेको जनाएको थियो । १०७२० करोड मूल्यका पुराना नोट मात्र फिर्ता हुन बाँकी रहेको आरबीआईले जनाएको थियो । नेपालको वित्तीय प्रणालीमा रहेको भारु भने अझैसम्म साटिएको छैन । जब कि भुटानसँगको भएको भारु भने नोटबन्दीको एक वर्ष नहुँदै साटिएको थियो ।

Translate »