चौकुनेमा औद्योगिक ग्राम बन्ने

कोल्टे फेर्दे पश्चिम सुर्खेत

स्काई न्यूज / कार्तिक २७, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार विकासले पछाडि पारिएको चौकुने गाउँपालिका–५, मा औद्योगिक ग्राम बन्ने पक्का भएको हो । कात्तिक २४ गते बसेको संघीय मन्त्रिपरिषद् बैठकले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, मायातालको १० विघा सामुदायिक वनको जग्गामा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ । सरकारले चौकुनेमा आद्योगिक ग्राम बनाउने घोषणा गरेसँगै यस क्षेत्रका उद्यमी तथा सर्वसाधारणमा उत्साह फैलिएको स्थानीय समाजसेवी काशीराम देवकोटाले बताए । साविकको गुटु गाउँविकास समितिका अध्यक्ष समेत रहेका देवकोटाले सरकारको ध्यान पश्चिम सुर्खेतको पूर्वाधार विकास निर्माण अन्तर्गत सडक, विजुली तथा सञ्चारतर्फ तर्फ पहिले जान आवश्यक रहेको औल्याए । ‘जनप्रतिनिधिको पहल अनुसार अहिले विकासमा बामे सर्दै गरेको पश्चिम सुर्खेतले कोल्टे फर्ने प्रयास गरिरहेको छ,’ उनले भने, ‘चौकुनेमा साना तथा ठूला उद्योगको विकासबाटै यस क्षेत्रका नागरिकको जीवनस्तरमा परिवर्तन आउनेछ ।’ उनले स्थानीय स्तरमा औद्योगिक ग्राम स्थापना भएपछि यस क्षेत्रमा उपलब्ध कच्चा पर्दाथको सदुपयोगसँगै रोजगारी सृजना हुने विश्वास व्यक्त गरे । सरकारले सुर्खेतको चौकुनेसँगै भेरीगंगा नगरपालिका–११, मा रहेको २० विघा जग्गालाई समेत औद्योगिक ग्राम तोकेको छ । मन्त्रीपरिषद् बैठकले कर्णालीका ३ स्थानमा औद्योगिक ग्राम घोषणा भित्र जाजरकोटको शिवालय गाउँपालिका–४ तिमिलेपाखाको ४८ रोपनी जग्गामा समेत औद्योगिक ग्राम बनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो । कर्णाली प्रदेशका ३, गण्डकी प्रदेशका ५, र बागमती प्रदेशका १ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो । सरकारले गण्डकी प्रदेशमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ को ९३ रोपनी ८ आना सरकारी जग्गा, तनहुँको भानु नगरपालिका–३ को ४७ रोपनी जग्गा, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका– २ को १०० रोपनी जग्गा, मनाङको चामे गाउँपालिका–४ को १०० रोपनी जग्गा र पर्वतको कुश्मा नगरपालिका– १ को ३८४ रोपनी ८ आना जग्गालाई पनि औद्योगिक ग्राम तोकिएको छ ।

सरकारले उदयपुरको रौतामाई गाउँपालिका–५ को ६३ रोपनी २ आना सरकारी जग्गा, बेलका नगरपालिका–५ को ८ विघा सरकारी जग्गा र तेह्रथुमको म्याङलुङ गाउँपालिका– १ र १० ओख्रेटोलको ६४ रोपनी ४ आना सरकारी जग्गासँगै नुवाकोटको विदुर नगरपालिका– १० शुभघाट क्षेत्रको १८७ रोपनी जग्गालाई औद्योगिक ग्राम तोकेको छ । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । औद्योगिक ग्राम स्थापनाको लागि सरकारले पहल गरेपछि यस क्षेत्रका उद्यमीमा उत्साह छाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले कर्णाली प्रदेशमा सरकारले औद्योगिक ग्राम स्थापना गर्ने निर्णय स्वागत योग्य कदम भएको बताए । उनले औद्योगिक ग्राम घोषणा गरेर  मात्र नपुग्ने भएकाले आवश्यक पूर्वाधारसहित सरकारले निर्माण कार्य यथाशीघ्र अगाडि बढाउन अनुरोध गरे । औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ अनुसार औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउनु पर्नेछ । औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ । उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलकलगायत स्थानीय तहले उपयुक्त ठानेका उद्योगहरु रहने छन् ।

Translate »