आयातित काठ महँगियो

नेपाली बजारमा विदेशबाट अयातित काठको भाउ महँंगिन थालेको छ । ५ महिनादेखि सरकारले स्वदेशी सालको काठ संकलन, ओसारपसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्धसँगै विदेशबाट आयातित हुने काठ महँगिन थालेको हो । स्वदेशी बजारमा काठको हाहाकार हुन थालेपछि र कोरोना भाइरसका कारण उत्पादन कम भएसँगै विदेशबाट आउने आयातित काठ महँगो मूल्यमा किन्न उपभोक्ता वाध्य भएका छन् । काठ व्यवसायीका अनुसार विश्वमा कोरोना भाइरसको संक्रमण सुरु हुनुअगाडि नेपाली बजारमा मलेसियाली सालको काठ प्रतिक्यूफिट ३ हजार रुपैयाँसम्म मूल्य थियो । तर हाल मलेसियाली सालको काठको मूल्य पनि ५ हजार रुपैयाँ पुगेको छ । ‘ए’ ग्रेडको प्रति क्यूफिट स्वदेशी सालको काठ ६ हजारबाट बढेर हाल ८ हजार रुपैयाँसम्म पुगेको छ । विगत ५ महिना अघिदेखि नै काठ संकलनमा लगाइएको प्रतिबन्धले अझै चर्को मूल्यको मारमा काठ उपभोक्ता पर्ने देखिन्छ ।

जेठ १५ गते मन्त्रिपरिषद्ले देशका विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य वन क्षेत्रको दुरुपयोग हुने गरी अनियमिता भइरहेको भन्दै नेपालभित्रको सम्पूर्ण वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान गर्ने, संकलन, ढुवानी र ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने निर्णय भएको थियो । व्यवसायीका अनुसार, अहिले कोभिडका कारण काठ आयात पनि सहज हुन सकेको छैन । अझै कटान भइसकेका स्वदेशी काठ पनि जंगलमा नै अलपत्र छन् । यता बजारमा भने माग अनुसार काठ व्यवस्थापन सहज हुन नसक्दा मंहगिदै गएको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कपिलप्रसाद अधिकारी बताउँछन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार पछिल्लो वर्षहरूमा विदेशी काठ आयातमा बर्सेनि ७ अर्ब रुपैयाँ बाहिरिने गरेको छ । यता, वन विभागको तथ्यांकअनुसार देशभरका सरकारी वनबाट ८० लाख क्यूफिट काठ उत्पादन हुन्छ । निजी बनबाट १ करोड क्यूफिट काठ उत्पादन हुँदै आइरहेको छ । तर हाल नेपाली बजारमा ३ करोड क्यूफिट काठको माग छ । (कारोबार)

Translate »