कोभिडविरुद्ध खोप निर्माणको प्रभाव सुनको मूल्यमा

लगातार उकालो लाग्दै गएको सुनको मूल्य मंगलबार एकै दिन तोलामा ३ हजार चार सय रुपैयाँले घटेको छ । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोप तयार पारी प्रभावकारी भएको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक्कासी कमी आएको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंश १ हजार ९ सय ६३ मा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ८२ डलर घटेर एक हजार ८ सय ८१ डलरमा कारोबार भएसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । स्थानीय बजारमा सोमबार तोलामा ३ हजार ४ सय रुपैयाँले मूल्य घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कोभिड भाइरस विरुद्धको खोप निस्केको खबर बाहिरआएसँगै सुनको मूल्य बढ्न गएको बताए । अमेरिकाले एक महिनाभित्र खोप निकाल्ने भनेपछि आर्थिक क्षेत्र प्रभावित भई लगानीकर्ता सुनमा आकर्षित नभएकाले पनि मूल्य घट्न गएको उनको भनाइ छ । व्यवसायीका अनुसार सुनको मूल्य घट्नुको अर्को कारण अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएकाले पनि हो ।

बाइडेनले अमेरिकी अर्थतन्त्र सुधार्ने अपेक्षामा डलर बलियो हुने र सुन सस्तिने अनुमानकै बीच फाइजरले कोभिडको भ्याक्सिन बनाएको खबरसँगै सुनको मूल्य घट्न थालेको शाक्यको भनाई छ । आगामी दिनमा सुनको मूल्य अझै घट्ने व्यवसायीले अनुमान गरेका छन् । कोभिडको कारणले गर्दा लगानीका विकल्प कम हुँदा सुनमा अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी गरेकाले पनि मूल्य बढ्दै गएको थियो । यसअघि गत साउन २३ गते शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा स्थानीय बजारमा कारोबार मूल्य तोलाको एक लाख तीन हजार पाँच सय पुगेको थियो । साउन २५ गते आइतबारबाट भने ओरालो लाग्न थालेको सुनको मूल्य यसअघि साउन २८ मा एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको थियो । उक्त दिन चाँदीको मूल्य भने अहिलेसम्मकै उच्च तोलाको १ हजार ४३५ रुपैयाँ पुगेको थियो । सुनको मूल्य घट्दै गएपछि कारोबारमा वृद्धि हुने व्यवसायीले अनुमान गरेका छन् । तिहार सुरु भए पनि बजारमा सुनचाँदीको कारोबार भने बढ्न सकेको छैन । तिहारमा सवै भन्दा धेरै चाँदीको कारोबार हुने गर्छ । चाडपर्वको समयमा पनि मूल्य बढेकाले कारोबार बढ्न सकेको छैन । तिहार आउन बाँकी रहेको र मूल्य लगातार घट्दै गएपछि सुनको कारोबार बढ्न सक्ने व्यवसायीको अनुमान छ । कोभिडको प्रभावले धेरैको रोजगारी गुमेकाले जीवनयापन गर्ने कठिन भएकाले पनि सुन खरिद गर्ने ग्राहक नभएको व्यवसायीको भनाइ छ । यसैबीच, असली चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा सोमबारको २५.८६ प्रतिऔंसबाट मंगलबार २४.२२ डलरमा झरेको छ । नेपाली बजारमा एकै दिन ७० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार २ सय १५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । (कारोबार)

Translate »