लोप हुँदै काठका ठेकी

कात्तिक २५,मुगु ।
विकास र परिवर्तनसँगै विभिन्न धातु र प्लाष्टिकका सजिला भाँडा बर्तनहरुको प्रयोग बढ्दै जान थालेपछि मुगुका गाँउ बस्तीहरुमा दुध दही राख्न बनाइएका काठका ठेकीहरु लोपहुने अवस्थामा पुगेका छन् । करिव दुई दशक पहिले यहाँका हरेक घरमा गाई भैंसी दुहुने भाँडादेखि दुध संचय गरेर दही बनाउने मोही पार्नेसम्मको गोरससँग सम्बन्धित सम्पुर्ण कार्यका लागि जताततै देखिने काठका ठेकीहरु अहिले देख्नै मुस्किल हुन थालेको छ । पछिल्लो समय आयातित सस्ता र सजिला आल्मुनियम र स्टिलका ठेकी सहजै पाइन थालेपछि काठका ठेकी हराउनका साथै ठेकी बनाएर गुजारा गर्ने चदाराको पुर्खौली पेशासमेत संकटमा परेको छ ।

काठको ठेकीमा राखेको दही मिठो हुनुका साथै मोही पार्दा घिउसमेत बढी हुने स्थानीय किसानहरुको अनुभव छ । विषेशगरी, लालिगुराँसको ठेकामा गोरस अत्यन्तै राम्रो हुने भएपनि राष्ट्रिय फुल भएका कारण रुख काट्न नमिल्ने भएर काठको ठेकी हराउनु अर्को मुख्य कारण बनेको छ । हिजो आज लेकतिर खर्कमा गएपछि काठका ठेकी लस्करै देखिनुपर्नेमा आल्मुनियमका ठेकीहरु मात्र देख्न पाइन्छ । आल्मुनियमका ठेकीको गोरस पनि त्यति मिठो नहुने र धातुको रसायनले स्वास्थ्यलाई हानी पुर्‍याउने चिन्ता उनीहरुमा छ । पहिले–पहिले काठबाट निर्मित विभिन्न साइजका दुन्यारो, ओल्क्या, चौठो र ठेका पाइन्थ्यो भने अहिलेको पुस्तालाई काठको ठेका चिनाउनसमेत मुस्किल हुनथालेको पाका पुस्ताको भनाइ छ ।

Translate »