जनगणनाका लागि २११ दिन बाँकी

७० लाख घरपरिवार र ३ करोड जनसंख्या भएको प्रारम्भिक अनुमान

कात्तिक २५,काठमाडौं ।
प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना शुरू हुन अब २११ दिन बाँकी रहँदा ७० लाख घरपरिवार ३ करोड जनसंख्या भएको प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको पाइलट जनगणनाको आधारमा सो अनुमान गरिएको हो । राष्ट्रिय जनगणना–२०७८ मा जनसंख्याका साथै आर्थिक, सामाजिकलगायत विभिन्न पक्षको विस्तृत अध्ययनसमेत गरिने गरिने केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । जनगणनामा पहिलोपटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरूको विस्तृत तथ्यांक, कृषिमा प्रयोग भएका जग्गा, पशुपक्षीको तथ्यांक र वित्तीय पहुँच, तालीमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरहरूको समेत तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । कोरोना महामारीको अनिश्चितता रहिरहेको अवस्थामा पनि विभागले सहजतापूर्वक राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी गरिरहेको विभाग र आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार आयोजना गरेको भर्चुअल कार्यक्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

विभागले पाइलट जनगणना गरिसकेको र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी जनगणना गरिने उनले बताए । ‘जनगणनाको तयारी स्वरूप आगामी माघदेखि मास्टर ट्रेनरहरूका लागि तालीम दिन शुरू गरिनेछ । त्यसैगरी चैत महीनादेखि ४ महीनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिनेछ । उनले भने, ‘विगतमा गणकका रूपमा शिक्षकहरूलाई प्रयोग गरिन्थ्यो, यसपटक खुला विज्ञापनमार्फत गणकहरू छनोट गरिनेछ ।’ राष्ट्रिय जनगणनालाई सम्पन्न गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय जनगणना निर्देशन समिति बन्नेछ । ७ ओटै प्रदेश, सबै जिल्ला र सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्वय समिति स्थापना हुनेछ । विभागले यति बेला जनगणनाका शासकीय पक्षका बारेमा छलफल गरिरहको विभागका सह सचिव सुमनराज शर्माले बताए । उनले मुलुक संघीयतामा गइसकेपछि संघ ७ प्रदेश र ७५३ स्थानीय तह भएको अवस्थामा राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांक सबैलाई नीति निर्माण गर्ने र कार्ययोजना तय गर्न सहयोगी हुने बताए ।

आगामी राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि तीनओटा प्रश्नावली तयार पारिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए । विभागका अनुसार पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिनेछ । यसमा २५ ओटा प्रश्न हुने र त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ ओटा प्रश्नहरू हुने जानकारी विभागले दिएको छ । मुख्य प्रश्नावलीमा प्रत्यक्षरूपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी बत्ती, मोबाइल, सवारीसाधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ । तत्कालीन समयमा ५६ लाख मानिस थिए । ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको यस पटकको जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा जमीनको विवरण संकलन गरिनेछ । साथै, आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्य सम्बन्धीलगायत तथ्यांक संकलन गरिनेछ । सेवा सुविधामाथिको व्यक्तिहरूको पहुँच कस्तो छ भन्ने विषयमा पनि विस्तृत विवरण संकलन गरिनेछ ।

Translate »