पश्चिम सुर्खेत कैलालीसँग जोडिँदै

कुइनेमा कर्णाली नदीमाथिको पुल निर्माण तीव्र

स्काई न्यूज /कार्तिक २४, सुर्खेत ।
सुर्खेत कैलालीसँग छिटै जोडिने भएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीको सडक सञ्जालसँग जोडिन अब केही दिन अरु कुर्नु पर्नेछ । सुर्खेतको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माण शुरु भएसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दूरीको सडक सञ्जालमा जोडिने पक्का भएको हो । साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक बनिसकेको छ । तर, कर्णालीमा पुल नभएका कारण दुई प्रदेशको यातायात सम्बन्ध भने हुन सकेको छैन । सुर्खेत र कैलाली जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले उक्त बाटोलाई पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्नेछ । पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउनेछन् । कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणपछि सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिनेछ । कुइनेस्थित कर्णाली नदीमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि ०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माण ढिलो शुरु भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका साइड इन्चार्ज दिनेशकुमार श्रेष्ठले ०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण शुरु भएको बताए । ‘नदीले बर्सेनि धार परिवर्तन गरेका कारण डिजाइन स्वीकृत गर्न ढिला भएको हुन सक्छ’, श्रेष्ठले भने, ‘भौगोलिक अवस्थितिका कारण पनि केही ढिला भएको हो ।’ यसै वर्ष पुल सञ्चालनमा ल्याउने गरि निर्माण कार्यलाई तीव्रता दिईएको कम्पनीले जनाएको छ । चौकुने गाउँपालिका–७, का समाजसेवी काशीराम देवकोटाले ढिलै भएपनि पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो दूरीमा पर्ने नाकाका रुपमा जोड्ने बताए । कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने कुइनेका कलौरा माझीले पुल निर्माणसँगै सडक स्तरोन्नति हुने आशा व्यक्त गरे । चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । उता, सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्म १९ किलोमिटर सडकमा साना सवारीसाधन सञ्चालन भईरहेका छन् ।

सुर्खेतमा पर्ने भेरी नदीमा पक्की पुल निर्माण भएपछि अटोरिक्सालगायत साना सवारीसाधन बड्डीचौर हुँदै कुइनेसम्म पुग्न थालेका हुन् । भेरी नदीमा निर्माण भएको पुल दुई वर्ष पहिलेदेखि नै सञ्चालनमा आएको छ । उक्त पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै छोटो हुनेछ । पश्चिमका नागरिकलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्नुभन्दा छिटो कैलालीको चिसापानी पुग्नेछन् । यो पुल निर्माणसँगै साबिक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालीकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले सबै भन्दा छोटो दुरीको यात्रा गर्न पाउने छन् । उनीहरुलाई हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरियाको घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्य छ । चिसापानी–कुइने हुँदै बड्डीचौरसम्मको सडक र कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणका लागि सुर्खेत क्षेत्र नम्वर २, बाट प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले समेत सक्रियता देखाउँदै आएका छन् । राज्य मन्त्री रावतले उक्त सडक र पुल साविक सुदूर तथा मध्यपश्चिमका बासिन्दाको भविष्यसँग जोडिएको बताए । उनले पहिलेका जनप्रतिनिधिले उपेक्षा गरेका कारण छोटो दूरीको बाटो निर्माण हुन वर्षौं लागेको जनाए । ‘घुमाउरो बाटो कालोपत्रे भएका छन् तर यो छोटो बाटोबारे कसैले ध्यान दिन सकेन’, राज्य मन्त्री रावतले भने, ‘यो बाटो सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाको समृद्धिसँग जोडिएको छ ।’ उनले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक निर्माणको काम समेत प्राथमिकताका साथ अघि बढाउन सरकासँग लविङ्ग भईरहेको जनाए । यता कुईने पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो नाकाका रुपमा जोड्ने चौकुने गाउँपालिकाका निश्चल बयकले बताए । ‘पुल बनेपछि सत्ती भन्सार कार्यालय भौगोलिक रुपमा निकै नजिक हुनेछ,’ उनले भने, ‘यो कर्णाली प्रदेश र यहाँका जनताका लागि राम्रो कुरा हो ।’ कैलालीको मोहन्याल गाउँपालिका कुइनेका कलौरा माझी पुल निर्माणसँगै सडक स्तरोन्नति हुने आशमा छन् । साबिक सुदूर तथा मध्यपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् । उनीहरु भारतका विभिन्न शहर जान बाँके, कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका प्रयोग गर्छन् । जुन सीमा नाकासम्म पुग्न उनीहरुले धेरै समय खर्चिनु पर्छ । यो पुल बनेसँगै उनीहरु केही घण्टाको यात्रामै सीमा नाकामा पुग्न सक्ने छन् । रोजगारीका लागि भारत जाने मात्रै होइन, ती क्षेत्रमा खाद्यान्न, औषधि, लत्ताकपडा लगायत सामग्री तराईबाटै ढुवानी हुन्छ । अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरियाबाट पहाडी जिल्लातर्फ सामग्री ढुवानी भइरहेको छ । पुल निर्माणपछि यो सडक पहाडी जिल्लामा सामग्री ढुवानीको छोटो विकल्प बन्ने सक्ने देखिन्छ ।

Translate »