डोल्पाका विद्यालय खुले तर प्रशासन भन्छ– तत्काल बन्द गर !

कात्तिक २४,डोल्पा ।
गत चैत्रदेखि बन्द भएका डोल्पाका बिद्यालयहरु खुलेका छन् । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका बिद्यालयहरु आठ महिनापछि खुलेका हुन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका बिद्यालयहरु खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिका भित्र पर्ने ३२ वटै बिद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि बिद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पुर्ण बिद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ । नगरको निर्देशन अनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माध्यामिक बिद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । सात–आठ महिनासम्म क्वारेन्टिनको रुपमा संचालन गरिएको यस बिद्यालय सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ । अर्को ठुलीभेरी नगरपालिकाले भने अझै बिद्यालय खुलाएको छैन् । प्रशासनले खुलेका बिद्यालयलाई बन्द गर्न ताकेता लगाएपछि ठुलिभेरीका कुनैपनि बिद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि बिद्यालय खुलेका छन् ।

दुबै स्थानीय तहले दशैँ बिदाकालागि बन्द भएका बिद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन सञ्चालनमा ल्याएका हुन् । यी दुई स्थानीय तहले लकडाउन अवधीभर पनि निरन्तर बिद्यालय सञ्चालन गरेका थिए । नजिकिँदै गरेको बार्षिक परीक्षा सम्पन्न गरेर बिद्यालय बन्द गर्ने दुबै स्थानीय तहको तयारी छ । त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले लकडाउनमा पनि बिद्यालय बन्द गरेनन् । अहिले पनि तीन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम बार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर बिद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ । उपल्लो डोल्पामा छ महिना मात्र पढाइ हुने भएकाले बैशाखमा खुलेका बिद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन् । काइके गाउँपालिकाले लकडाउनको बिचमा बिद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बिचमै पठनपाठन रोकेको थियो ।
प्रशासनद्वारा विद्यायल बन्द गर्न निर्देशन
डोल्पाका स्थानीय तहले सरकारको निर्देशन विपरित बिद्यालय खुलाएकाछन् । कोरोना कहरमा देशैभरका बिद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफु खुशी बिद्यालय चलाएको प्रशासनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले बिद्यालयमा हुने जमघटका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई बिद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ । निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठुलिभेरी नगरपालिका,जगदुल्ला र मुड्केचुला गाउँपालिकाले बिद्यालय खुलाएको प्रशासनले जनाएको छ । कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्न स्थानीय प्रशासन,स्थानीय सरकार लगायत सम्पुर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ शुरेस सुनारले बताए । “बिद्यालय खोल्न संघीय सरकारको निर्देशन छैन्, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे,अब लिखित निर्देशन नै दिन्छौँ,अटेर गरे भने कारवाही गर्छौँ” प्रजिअ सुनारले भने। “लामो समयदेखि बालबालिकाको पठनपाठन ठप्प भएको छ,तर पनि अहिलेको अवस्था भिडभाड नगर्नु नै राम्रो हुन्छ,बरु सुरक्षा सतर्कता अपनाउँदै बैकल्पिक पद्धति अपनाएर शिक्षा प्रदान गर्न सकिन्छ ” प्रजिअ सुनारको भनाइ थियो । “जिल्लामा उपलब्ध रेडियो,इन्टरनेट प्रयोग गर्नुकासाथै टोलटोलमा शिक्षक परिचालन गरेर पछि शिक्षा प्रदान गर्न सकिन्छ,बिद्यालय खोलेर मात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ” उनले भने । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले औपचारिक रुपमा बिद्यालय खुलाउन संघीय सरकारको निर्देशन नभएकाले खुलाइएका बिद्यालय तत्काल बन्द गर्नुपर्ने प्रशासनको भनाइ छ । आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितिको बैठकले स्थानीय तहले खुलाएका बिद्यालय तत्काल बन्द गर्न लिखित पत्राचार गर्ने निर्णय गरेको सहायक प्रजिअ लक्ष्मी देबी शर्माले जानकारी दिए। त्यतिमात्र नभई जिल्ला अस्पतालमा रुघाखोकीका बिरामी बढेकाले कोरोना परिक्षणकालागि स्वाब संकलन गर्ने, तिहारमा देउँसी(भैलो खेल्न नपाइने जस्ता निर्णयसमेत गरिएको शर्माले बताए ।

Translate »