सल्यानमा कोरोना संक्रमणबाट पहिलोपटक एकको निधन

सल्यानमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको निधन भएको छ। सल्यानको शारदा नगरपालिका निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । केही दिनअघिदेखि ज्वरो, रुघाखोकी लागेपछि उनलाई उपचारका लागि दाङ लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दाङबाट उनलाई कोहलपुर रिफर गरिएको परिवारले बताएको छ । कोहलपुर भर्ना गरेको भोलपिल्ट शुक्रबार उनको निधन भएको अस्पतालले जनाएको छ । निधन भएको एक दिनपछि (शनिबार) उनको रिपोर्ट पजिटिभ आएको वडाध्यक्ष नवराज बुढाथोकीले बताए । बुढाथोकीले मृतकको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्।
बजार क्षेत्र एक साताका लागि बन्द
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर एकसाताका लागि बन्द गरिएको छ । कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मत्यु भएपछि श्रीनगर बजार एक साताका लागि बन्द गरिएको हो । यस्तै कोरोना संक्रमणका लक्षण मिल्ने बिरामी भएको जानकारी आएपछि श्रीनगर बजार क्षेत्रमा बन्द गरिएको नगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । आईतबारदेखि कात्तिक २९ सम्म शान्तिनगर, श्रीनगर, शीतलपाटीदेखि बेलघारीसम्म बन्द गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । उनले अत्यावश्यक सामान खरिदका लागि भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ बजेदेखि १० बजेसम्म पसल तथा बैंकहरू सञ्चालन गर्न सकिने बताए ।
कोरोना संक्रमितको संख्या पाँच सय ५० पुग्यो
जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय ५० पुगेको छ । तीमध्ये अहिलेसम्म पाँच सय सातजना कोरोना भाइरस संक्रमित निको भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा ४३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । (नयाँ पत्रिका)

Translate »