एकीकृत भन्सार जाँच चौकीको काम शुरु हुँदै

स्काई न्यूज / कार्तिक २२, बाँके ।
नेपालगन्ज एकीकृत भन्सार जाँचचौकी (आईसीपी) को निर्माण कार्य अगाडी बढेको छ । नेपालगन्ज–रुपैडियामा संयुक्त रुपमा बन्ने उक्त आईसीपीको निर्माण कार्यका लागि भारतीय पक्षले परामर्शदाता र ठेकेदार कम्पनी छनौट गरेसंगै काम अगाडी बढेको हो । भारतीय लोकसभा निर्वाचन, कोरोना कहरले प्रभावित भएको काम अब शुरु हुने बताइएको छ । आईसीपी निर्माण तथा सन्चालनमा प्रत्यक्ष चासो राख्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका मेकानिकल इन्जिनियर जीवन ढकालका अनुसार, भारतीय पक्षले राईट्स नामको कम्पनीलाई परामर्शदाता र राजदीप बिल्डकनलाई ठेकेदार कम्पनीका रुपमा छनौट गरी आईसीपी निर्माणको काम अगाडी बढाएको हो । परामर्शदाता र ठेकेदार कम्पनी छनौटसंगै भारतीय पक्षले नेपालमा ल्याउनुपर्ने भन्सार रहित सामाग्रीको सूची माष्टरलिष्ट पठाइसकेको छ । प्रयोग गर्न मिल्ने र नमिल्ने दुई थरी सामाग्री आयातको अनुमतिसंगै आईसीपीको काम औपचारिक रुपमा अगाडी बढ्ने छ । सबै कागजाती काम सम्पन्न भए तिहार पछि पूर्वाधार निर्माणको काम हुने अपेक्षा गरिएको छ । उक्त आईसीपीका लागि नेपाल पक्षले जग्गा अधिग्रहणको काम सम्पन्न गरिसक्दा पनि भारतले पूर्वाधार निर्माणका ढिलाई गरेको थियो । आईसीपी निर्माणको सम्पूर्ण जिम्मा भारतीय पक्षका भएकाले उक्त आईसीपी निर्माणको भविष्य भारतीय पक्षमै निर्भर रहेको छ । भारततर्फ ५ प्रतिशत काम सम्पन्न भइसकेको छ । २०७५ पुष ३० गते भारतका तत्कालिन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रुपैडियामा आएर शिलान्यास गरेका थिए । २ अर्ब भारतीय रुपैयाँ लागतमा दुई वर्षभित्र आईसिपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ । हाल काममा ढिलाई भएपनि अब भने काम चाँडो शुरु हुने आशा पलाएको छ । भवन निर्माण सम्बन्धी काम भने शहरी विकास कार्यालयले हेर्ने गर्छ ।

Translate »