खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतको भवन शिलान्यास

ब्यबस्थित भवनबाट प्रभावकारी कार्य सम्पादनसँगै प्रदेशका नागरिकले सर्वसुलभ सेवा लिन पाउने विश्वास

स्काई न्यूज / कार्तिक २१, सुर्खेत ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतको भवन शिलान्यास गरिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले औपचाकिक कार्यक्रमका वीच डिभिजन कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । ६ करोड ५० लाख लागत स्टिमेट रहेको अढाई तले १६ कोठे भवनको आधारभूत काम शुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको भवन निर्माणको जिम्मा काठमाडौंको रविना÷अभिशा जेभीले भ्याट बाहेक ४ करोड ३४ लाख रुपैयाँमा लिएको छ । महानिर्देशक रायले बहुवर्षिय योजनाको रुपमा अगाडी बढाई भवनको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन तर्फ सरोकारावालाको ध्यान जान आवश्यक रहेको औल्याए । उनले भवन निर्माणपछि प्रभावकारी कार्य सम्पादनसँगै ब्यबस्थित भवनबाट प्रदेशका नागरिकले सर्वसुलभ सेवा लिन सहजता हुने विश्वास व्यक्त गरे । उनका अनुसार अहिले सुर्खेतमा खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयको आफ्नो भवन नहुँदा भाडाको घरमा बस्दै आईरहेको छ । ‘कर्णाली प्रदेशमा खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयको भवन निर्माणको कामलाई विभागले विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘सुर्खेती सरोकारवालाले डिभिजन कार्यालयको प्रशासनिक भवन निर्माण गर्न सहयोग गरेझै खाद्य प्रविधि प्रयोगशाला निर्माणका लागि समेत जग्गा उपलब्ध गराई दिएको भएँ एकैचोटी दुबै भवन निर्माण हुने थिएँ ।’ उनले नयाँ भवन निर्माण शिर्षकमा रकम भएपनि जग्गा खरिदका लागि नहुँदा कर्णालीमा यस वर्ष पनि खाद्य प्रविधि प्रयोगशाला निर्माण हुन नसक्ने स्पष्ट पारे । उनका अनुसार कर्णालीका लागि कम्तीमा एउटा खाद्य प्रविधिको प्रयोगशाला निर्माण गर्न आवश्यक थियो ।


अहिले कर्णालीमा खाद्य प्रविधिको प्रयोगशाला नहुँदा मिसावट तथा कैफियतजन्य वस्तुको चेकजाँचका लागि नेपालगञ्ज र काठमाडौं पठाउनु पर्ने बाध्यता रहेको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतले कर्णालीका ७ जिल्लाका नागरिकलाई खाद्य स्वच्छता तथा पोषण, खाद्य वस्तुमा मिसावट नियमन, खाद्य वस्तुजनित रोगबाट बच्ने उपाय, कुपोषणका कारण, निदान, कुपोषण नाप्ने तरिका, उपभोक्ता सचेतना, लगायतका बारेमा जानकारी दिने गर्दछ । डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले डिभिजनको प्रशासनिक कार्यालय भवन शिलान्याससँगै अब खाद्य प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार एवं केन्द्रसँग पहल गरिने बताए । उनले डिभिजनको नयाँ भवन निर्माण भएपछि भाडाको घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भई सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन सहज हुने विश्वास व्यक्त गरे ।

Translate »