नेपाली सेनाले दियो भारतीय सेनालाई मास्क

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

स्काई न्यूज / कात्तिक २१,काठमाडौं ।
भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे । नेपाल–भारत सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स, चार आइसियु भेन्टिलेटर, एक्सरे मेशिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेयिया मेशिन र प्रयोगशालासम्बन्धी उपकरण रहेको बताइएको छ ।

भारतीय सेनालाई बुद्धको प्रतिमा र मास्क

सो अवसरमा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोग स्वरुप उपलब्ध गराईएको छ । उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गरे । प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहारस्वरुप शान्तिका प्रतीक गौतमबुद्धको प्रतिमासमेत दिए । यसअघि स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नुका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपें । त्यसलगतै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनले नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई शुक्रबार नै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औं सेनापति हुन् ।

 

Translate »