नाग्म–गमगडी सडक स्तर वृद्धि द्रुत गतिमा गरिदैं

सागर परियार / कात्तिक २०,जुम्ला ।
नाग्म गमगडी सडक खण्डको स्तर वृद्धि द्रुत गतिमा गरिने भएको छ । नेपालका ९३ वटा राष्ट्रिय राजमार्ग मध्यको एक नाग्म गमगडी सडक खण्डको स्तर वृद्धि सुधारको कामलाई द्रुत गतिमा अगाडी बढाइने भएको हो । बुधवार प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतको उपस्थितिमा सडक डिभिजन कार्यालय जुम्लामा आयोजित छलफल कार्यक्रममा नाग्म गमगडी सडकलाई चालु आ.व. भित्रै ग्राभेल तथा अन्य सुधार गरी सक्ने गरी काम भइरहेको जनाइएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले नाग्म देखि मुगु गमगडी सम्मको ९३ किलो मिटर सडकको ग्राभेल गर्ने काम चलिरहेको बताए।

उनले बताए,“९३ किमी सडक ग्रोभलका लागि ६ वटा ठेकेदारले काम गरिरहेका छन् । त्यस मध्य नाग्मदेखि १३ किमी को स्तर वृद्धि र तारासिंह कठायतले जिम्मा लिएको ठेक्का अन्तर्गत निर्माण खण्डमा भने समस्या आएको छ ।” ६ वटा ठेक्का केही ठेकेदार राम्रो काम गरेको र केही ठेकेदारले काम गर्न ढिला सुस्ती गरेका छन् । ढिला सुस्ती गर्ने निर्माण कम्पनी ठेकेदारलाई तिहार सम्मको समयावधि दिइएको छ । त्यसपश्चात् पनि निर्माण कार्य अघि नबढे सिधै जरिवाना भराउने र कारबाही प्रक्रिया अघि बढाउने सडक डिभिजन प्रमुख भण्डारीले उल्लेख गरे ।चालु आ.व.मा सडक निर्माणका क्षेत्रमा ९ करोड मात्र बजेट विनियोजन भएकाले थप २३ करोड १३ लाख बजेट अभाव रहेको समेत भण्डारीको भनाई छ । तर पनि भएकै बजेट अनुसार काम गर्न यहाँका निर्माण कम्पनीहरूले ढिला सुस्ती गरिरहेका छन् ।

आफ्नो कार्यकाल भरी नाग्म–गमगडी सँगै कार्यक्षेत्र भित्रका सडकहरूको स्तर वृद्धि, मर्मत सम्भार गर्दै लगायत बजेट खर्चलाई शतप्रतिशत गर्ने डिभिजन प्रमुख भण्डारीको प्रतिबद्धता छ । यता प्रतिनिधि सभा सांसद गजेन्द्र महतले नागरिकको प्रत्यक्ष जीवन सँग जोडिएको पर्यटकीय माग नाग्म गमगडी सडकको स्तर वृद्धिलाई द्रुत गतिमा काम गर्न सुझाव दिए । लिला बहादुर भण्डारी सडकको प्रमुखमा आए पश्चात् सडक सुधार, निर्माण, मर्मत सम्भार उल्लेखीय रूपमा भएको र बजेट खर्च पनि सन्तोषजनक भएको भन्दै धन्यवाद समेत दिए । ठेकेदारलाई ताकेता दिएर काम चाडै सकिए नाग्म गमगडी सडक कालोपत्रे गर्न बजेट अभाव नहुने सांसद महतको भनाई छ । नेकपा प्रदेश सांसद पूर्ण प्रसाद धितालले नाग्मगमडी सडकमा भइरहेको ग्राभेल, नाला निर्माण लगायतको अन्य कामको अनुगमन निरीक्षण गरी मापदण्ड भित्र भए मात्र भुक्तानी दिन सुझाव दिए। सबैको साझा प्रयासबाट हाल भइरहेको स्तर वृद्धिलाई द्रुत गतिमा सम्पन्न गरी कालोपत्रे गरेर सिजां हुँदै रारा जाने पर्यटकको यात्रा सहज बनाउन तर्फ जोड दिए। छलफलमा सडक द्रुत गतिलाई दुर्ग रूपमा अघि बढाउने सँगै,ढिला सुस्ती गर्ने ठेकेदारलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरोकारवाला एकजुट भएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

Translate »