तिहारका लागि १८ करोडको झिलीमिली बत्ती आयात

कात्तिक २०,काठमाडौं ।
यस वर्षको तिहारका लागि १८ करोड मूल्य बराबरको झिलीमिली बत्ती आयात भएको छ । तिहार र छठलाई लक्षित गर्दै व्यवसायीले उक्त परिमाणमा यस्ता बत्ती आयात गरेका हुन् । नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तिहारका लागि करिब ४० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात गरेको थियो । यो वर्ष कोरोना महामारीका कारण बजारमा यस्ता बत्तीको माग घटेकाले महासघंले कम परिमाणमा आयात गरेको हो । महामारीका कारण यस वर्ष विद्युतीय सामग्रीको समग्र व्यापार करिब ६० प्रतिशतले घटेको संघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले जानकारी दिए । ‘यसले गर्दा झिलीमिली बत्तीको व्यापार ३५ देखि ४० प्रतिशतमा खुम्चिएको छ,’ उनले भने । नेपालमा विशेषगरी भारत र चीनबाट यस्ता बत्तीको आयात हुने गरेको छ । त्यसमध्ये करिब ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट आयात हुने गरेको छ ।

यसअघिका वर्षमा तिहारका लागि व्यवसायीहरू बत्ती आयात गर्न आफैं चीन र भारतीय बजार जाने गर्थे । उतैबाट बत्तीको गुणस्तरसमेत आफैंले जाँचेर आयात गर्दथे । तर, यो वर्ष चिनियाँ र भारतीय बजारमा जान नसकेका कारण अनलाइनमार्फत नै बत्तीको अर्डर गरेको इन्द्रचोकमा बत्तीको व्यापार गर्दै आएका शंकर अग्रवालले बताए । अघिल्ला वर्षहरूमा दसैं सकिएलगत्तै उपभोक्ताले घर, बगैंचा, कार्यालय, व्यापारिक मललगायत स्थानमा विभिन्न रङमा बल्ने बत्तीहरू लगाएर झिलीमिली पारिसकेका हुन्थे । तर, यस वर्ष महामारीका कारण उपभोक्तामा उत्साह नदेखिएपछि बत्तीको व्यापार पनि कम भएको हो,’ अग्रवालले भने । सामान्य अवस्थाको तुलनामा तिहारका बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड, महाबौद्धलगायत देशभरका विभिन्न सहरमा यस्ता बत्ती किन्नेहरूको भीड लाग्ने गर्थ्यो । यसले गर्दा अन्य समयभन्दा तिहारमा यस्ता बत्तीको व्यापार ८० प्रतिशतले बढ्ने गरेको थियो । महासंघमा ३ हजार ५ सय व्यवसायी आबद्ध छन् ।(आर्थिक अभियान)

Translate »