डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली लागू

कात्तिक १५, जुम्ला ।
जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका सात ओटै वडामा यो प्रणाली लागू गरिएको उनले बताए ।

सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार ओटा क्षेत्र छुटयाइएको छ । व्यापारिक क्षेत्रमा रू.५००, आवासीय क्षेत्रमा रू.३००, कृषि क्षेत्रमा रू.२५० र वन तथा बगर क्षेत्रमा प्रतिवर्गमिटर रू.१०० कर तोकिएको उनले बताए । यो प्रणाली सात ओटै वडामा लागू भएको छ । यहाँका स्थानीयवासीलाई यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले बताए ।

 

Translate »