कोरोना महामारीले गरिबी बढाउँदै

अर्थतन्त्रमा बहुआयामिक प्रभाव


स्काई अर्थ ब्यूरो / कात्तिक १४, सुर्खेत ।
कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन् । यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ । त्यसबाहेक यस महामारीले विश्वमा करोडौं व्यक्तिलाई गरिबीको रेखामुनि धकेल्दै छ । नेपालमा पनि निम्न मध्यम वर्गमा उकासिएका लाखौं नागरिकलाई पुनः निरपेक्ष गरिबीकै दलदलमा फसाउने देखिएको छ । बीबीसीले तीन साताअघि कोरोना प्रभावित २७ मुलुकमा गरेको एउटा सर्वेक्षण (पोल) ले गरिब राष्ट्रका नागरिकको आम्दानी ६९ प्रतिशत घटेको देखाएको छ । धनी देशका नागरिकले भने ४५ प्रतिशत मात्रै आम्दानी गुमाउनु परेको उक्त अध्ययनको निष्कर्ष छ । विश्वमा हरेक १० मध्ये ६ जना आर्थिक समस्याबाट प्रताडित रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि महिला र पिछडिएका समुदाय बढी मारमा परेका छन् । विश्व बैंकले गत ८ वैशाखमा प्रकाशन गरेको एउटा ‘डेटा ब्लग’ मा कोभिड–१९ का कारण विश्वमा कम्तीमा ४ करोड ९० लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिने उल्लेख थियो । नेपालमा कोरोनाका कारण कुन हदमा गरिबी बढ्छ भन्ने अध्ययन भएको छैन । तर, केही आँकडाले कम्तीमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना दर्शाउँछन् । नेपाल राष्ट्र बैंकले गत २६ जेठदेखि १० असार बीच गरेको एउटा सर्वेक्षणले उद्योग व्यवसायमा कार्यरत कामदार मध्ये साढे २२ प्रतिशत रोजगारी कटौती भएको देखाएको छ । त्यसमध्ये पनि दुई तिहाई कामदार दैनिक ज्यालादारी र अस्थायी तथा करार सेवामा कार्यरत रहेको उल्लेख छ । कोरोनाको प्रभाव देशभर कुनै न कुनै रुपमा परेकै छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडका नागरिक चाडपर्व मान्ने चाँजोपाँजो नजुट्दा कोरोनाको त्रासदीपूर्ण अवस्थामै ज्याला–मजदुरीका लागि भारत गइरहेका छन् ।


कसरी बढ्छ गरिबी ?
जनसंख्याको वृद्धिदर समान रहँदा अर्थतन्त्र बढ्न सकेन भने प्रतिव्यक्ति आय र खर्चयोग्य आम्दानी घट्छ । यसले गरिबी बढाउनमा सहयोग पु¥याउँछ । सरकार र दातृ निकायले यो वर्ष २ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुने अनुमान गरेका छन् । राष्ट्र बैंकका अनुसार गरिबीलाई पुरानै स्थितिमा रोक्न सामान्य अवस्थामा २ प्रतिशतको आर्थिक वृद्धि पर्याप्त हुने बताउँछ । पछिल्ला दुईवटा जीवनस्तर सर्वेक्षणको नतिजाले करिब ५ प्रतिशतको आर्थिक वृद्धि भएको अवस्थामा १ प्रतिशत बिन्दुले निरपेक्ष गरिबी घटाउन सकिन्छ भन्ने सामान्य आकलन गरिएको थियो । तर अहिलेको असाधारण परिस्थितिमा यस्ता तथ्यांकको उपयोग गर्न सकिँदैन । अहिले सबैजसो व्यक्तिको आर्थिक अवस्थामा थोरबहुत असर परेको भएपनि तल्लो तहका गरिबलाई जीवन धान्नै निकै समस्या परेको छ । यस्तो बेला सरकारी राहतका कार्यक्रमले पनि सम्भावित गरिबीको विस्तारलाई धेरथोर घटाउन सकिने देखिन्छ । तर, नेपालमा त्यस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वय गर्न सकिने तथ्यांक नै उपलब्ध छैन ।
मार गरिबी माथि नै
अन्तर्राष्ट्रिय संस्था अक्सफामको विश्लेषणअनुसार सन् १९९० पछि अब पहिलोपटक गरिबीको रेखामुनि आउने जनसंख्यामा ठूलो वृद्धि हुनेछ । कुनै क्षेत्रमा त ३० वर्ष पहिलेको जस्तो अवस्था आउनेछ । अक्सफामको प्रक्षेपण छ, विश्वभर गरिबीको रेखामुनि बाँच्नेको संख्या ४३.४ प्रतिशतबाट बढेर ६१.१ पुग्नेछ । यस्तो अवस्था धेरैजसो गरिब देशमै आउनेछ। यसका लागि विश्वभरको लकडाउन र धनी देशको महामारीको असर नै पर्याप्त छ । अन्तर्राष्ट्रिय आर्थिक नीति अनुसन्धान संस्थान (आईएफपीआरआई ) का अनुसार एक प्रतिशत वैश्विक आर्थिक मन्दीको अर्थ गरिबीको स्तर दुई प्रतिशत बढ्नु हो । यतिले मात्रै संसारभरमा गरिबको संख्या १.४ करोड बढ्नेछ । विश्व बैंकका अनुसार स्वास्थ्यमा हुने अप्रत्याशित खर्चका कारण प्रत्येक वर्ष १० करोड मानिस चरम गरिबीको चपेटामा पर्दै आएका छन् । कोभिड– १९ ले यो संख्या झनै बढाउनेछ । कामका लागि सहरी केन्द्र वा अन्य देश पुगेका श्रमिक घर फर्किरहेका छन् । देशमै हुनेको आय रोकिएको छ वा कम भएको छ । खाने मुख बढेको छ आम्दानी ठप्प छ । सरकारले कतै कतै बाँडेको राहतमा दालचामलको सिदा भए पनि गरिब दीर्घरोगीले नियमित खानुपर्ने औषधि छैन । हाम्रो स्वास्थ्य सेवामा माफिया–नेता ‘नेक्सस’ कस्तो छ, त्यो त डा. गोविन्द केसीले नै छर्लंग पारिसकेका छन् । स्वास्थ्य सेवामा निजी क्षेत्रको योगदान राम्रै होला तर, नाफामुखी विचारले प्रेरित निजी क्षेत्रका मेडिकल कलेज र अस्पतालले मानवतामाथि संकट आएका बेला के योगदान दिए त प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष दाहालले बुझेकै होलान् । संयुक्त राष्ट्रसंघीय व्यापार र विकास एजेन्सीका अनुसार विश्वका करिब ८२ करोड मानिसले यसअघिदेखि नै शरीरलाई आवश्यक क्यालोरी वा पोषण पाइरहेका छैनन् । अब आजीविकाको श्रृंखला र वैश्विक सहयोग प्रणालीमा अवरोध आउँदा कुपोषणका कारण ज्यान गुमाउनेको सख्ंया बढ्ने निश्चित छ । गरिबीको रेखाको संघारमै रहेको ठूलो तप्कालाई उद्धार गर्न ठूलै पहल गरिएन भने त्यसले धनी र गरिबबीचको खाडल ठूलो बनाउनेछ । यसले अस्थिरता, आतंकवाद, अपराधलगायत विभिन्न समस्या उत्पन्न गर्छ ।

Translate »