सुर्खेतको सिम्ता क्षेत्रका बजारमा अनुगमन तीव्र

गाउँपालिकाका जुट्यो उपभोक्ता सचेतनात्मक अभियानमा

स्काई न्यूज / कार्तिक ६, सुर्खेत ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय, सिम्ता गाउँपालिकाको उपभोक्ता हक हित तथा बजार अनुगमन समिति, राष्ट्रिय उपभोक्ता मञ्च एवं पत्रकारको सहभागितामा सिम्ताका जामुने बजार एवं गोजीबजार क्षेत्रमा बजार अनुगमन तीव्र पारिएको हो । सिम्ता गाउँपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तर, नापतौल एवं मूल्यमाथि निगरानी एवं नियन्त्रण गर्न बजार अनुगमन अभियानलाई प्रभावकारी बनाईएको बताएको छ । गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले चाडपर्व लक्षितमात्र नभई बजार अनुगमनलाई नियमित बनाउँदै छड्के अनुगमन समेत गरिने जनाए ।

उनले अनुगमनका क्रममा ग्रामीण भेकमा दर्ता विना नै पसल सञ्चालन, ढक, तराजु प्रमाणित विनै प्रयोगलगायतका समस्यालाई छिट्टै व्यवसायी तथा गाउँपालिका मिलेर व्यवस्थित गरिने बताए । ‘बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई अनुगमन टोलीले नियम अनुसार कारवाहीका लागि सिफारिस गर्छ,’ उनले भने, ‘उपभोक्ता हित विपरीत गतिविधि गर्ने व्यापारीलाई बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन अनुसार सजायको व्यवस्था हुन्छ ।’ उनले चाडपर्वमा मुख्यतः खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमनलाई निरन्तरता दिईने बताए ।

चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्ने लगायत समस्या देखिने गरेकाले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाइएको सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले जनाईन् । उनले उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको आपूर्ति सन्तुलन तथा मूल्य नियन्त्रणमा समेत ध्यान दिन अनुगमन टोलीलाई निर्देशन गरिएको बताईन् । उनका अनुसार बजार अनुगमनलाई दण्डात्मक मात्र नभई जनचेतना जनाउने उद्देश्य रहेको छ् । विशेषगरी चाडवाडका बेला अखाद्य वस्तु विक्री हुने, अधिकतम मूल्यभन्दा बढी मूल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिईएको उनको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर रानाले उपभोक्ता, हक र अधिकार कार्यान्वयनका लागि गाउँपालिका लागिरहेको जनाए । उनले बजारलाई व्यवस्थित तथा अनुशासित बनाउन सबै पक्षको सहयोग तथा सद्भाव अपरिहार्य रहेको औल्याए । विहीबार गोजी बजारमा गरिएको अनुगमनका क्रममा ४ वटा पसलबाट म्याद नाघेका मशालाजन्य तथा दालमोट, भुजालगायतका सामाग्री बरामद गरिएको थियो । अनुगमनमा सिम्ता गाउँपालिकाका उपाध्यक्ष शाही, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्रीसम्शेर राना, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

Translate »