घरबार विहीनलाई वृद्ध दम्पतीलाई नयाँ घर हस्तान्तरण

कात्तिक ३,रुकुम ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ११ का घरबार विहीन वृद्ध पदमसिंह रोकाको दम्पतीलाई नयाँ घर हस्तान्तरण गरिएको छ । देश विदेशमा रहेका नेपालीहरूको सहयोगबाट निर्माण गरिएको घर आइतबार एक भव्य कार्यक्रमका बिच घरका ताला चाबी हस्तान्तरण गरिएको हो । विगत धेरै वर्ष देखि छाप्रोमा बसेर गाँस, बास र कपासको अभावमा जीवन बिताइरहेका रोका दम्पतीको दुख समेटेर उक्त वडा निवासी सामाजिक अभियन्ता सिर्जना ओलीले भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि करिब १ सय १० जना भन्दा बढी सहयोगीहरूले सहयोग रकम पठाएका थिए । अभियन्ता सिर्जना ओलीको सहयोग अभियानबाट करिब ४ लाख ७१ हजार १ सय ३१ रुपैंया सङ्कलन भएपछि उक्त रकमबाट वृद्ध दम्पतीलाई घर निर्माण गरिएको हो । ६ लाख २१ हजार ९ सय ४५ रुपैंयामा उक्त नयाँ घर निर्माण गरिएको अभियन्ता सिर्जना ओलीले जानकारी दिइन । अभियन्ता ओलीका अनुसार अझै पनि १ लाख ५० हजार ८ सय १४ रुपैंया अपुग भएको छ ।

सहयोग अभियानबाट निर्माण गरिएको घर वृद्ध रोकाको दम्पतीलाई हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले उक्त अभियान सञ्चालन गर्ने सिर्जना ओली लगायत आर्थिक तथा भौतिक रूपमा सयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे । यस्तो अभियान सञ्चालन गर्ने सबैले सरकारले सम्मान गर्ने र हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सिर्जना ओलीले गरेको कामलाई जति प्रशंसा गरे पनि कमै हुने बताउँदै यस्ता कार्यमा सरकारले पनि आर्थिक तथा भौतिक रूपमा सहयोग समेत गर्ने बताए । त्यस्तै हस्तान्तरण कार्यक्रमको अध्यक्ष तथा यस अभियन्ता सिर्जना ओलीले आफूले मात्र यो अभियान सञ्चालन गरेर घर निर्माण जस्तो जटिल काम सम्भव नभएको बताए । घर निर्माणमा आफ्नो मात्र नभएर देश तथा विदेश बाट सहयोग गर्ने नेपाली हरूबाट नै सम्भव भएकाले आभार तथा धन्यवाद व्यक्त गरे। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूले अभियन्ता सिर्जना ओलीले सञ्चालन गरेको अभियानको खुलेर प्रशंसा गरेका छन् भने देश तथा विदेशमा भएका सहयोगी नेपालीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

Translate »