चार दशक वित्दा समेत सडकको स्तरोन्नती भएन

धुलियाविट–भेडावारी–सडकखण्ड


स्काई न्यूज / कार्तिक २, सुर्खेत ।
वर्षातमा हिलाम्य र सुख्यामा धुलाम्य ग्रामीण सडकको समस्या हो । जिल्लाका अधिकांश ग्रामिण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका यस्ता ग्रामिण सडकको स्तरोन्नती समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परेको छ । पूर्वी तथा उत्तरी सुर्खेतका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत थुप्रै गाउँलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने धुलियाविट भेडावारी–सडकखण्डको मर्मत सम्भारको अभावमा खतरनाक बन्दै गईरहेको हो । धुलियाविट–भेडावारी सडकको ट्¥याक खुलेको चार दशक बित्यो । तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । ४५ वर्ष अघि उक्त सडकको ट्¥याक खोलिएको थियो । मर्मत तथा स्तरोन्नति नहुँदा यो सडक वर्षातमा हिलाम्य र अरुबेला धुलाम्य हुने गरेको गर्छ । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि २०३२ सालमा यो सडकको ट्¥याक खोलिएको थियो । त्यसयता यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि पहल भएको छैन । हरेक दिन दर्जनौंं सवारी गुड्ने सडकमा यात्रुलाई सुविधा भन्दा सास्ती बढी छ । जिल्लाका पूर्वी तथा उत्तरी क्षेत्रका गाउँलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक नै वर्षौंदेखि स्तरोन्नतिको पखाईमा छ । खाल्डाखुल्डी र सडकमा पर्ने खोलामा पुल नहुँदा सवारी आवागमनमा सास्ती हुने गरेको छ । यसै सडकलाई विस्तार गरेर प्रदेश नम्बर ५ को दाङ्ग जोड्ने योजना छ ।

 

सडक स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुन्छ । तर न्यून बजेटका कारण मर्मतको काम अधुरै हुने गरेको छ । जनतालाई विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनीधिले ढिलासुस्ती गर्दा धेरै कष्ठ भोग्नु परेको कल्यानका स्थानीय टोपबहादुर डांगी बताउँछन् । सडक स्तरोन्नतीका लागि हरेक वर्ष टुक्रे बजेट विनियोजन हुने गरेपनि मर्मतको काम अधुरै हुन्छ । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको यस सडकमा विगतमा जिल्ला समन्वय समितिले मर्मत गर्दै आएको थियो । हाल स्थानीय तहको जिम्मामा परेपनि सडकको स्तरोन्नती हुन सकेन । चिंगाड खोलामा निमार्णाधिन पुल समयमै बन्न नसक्दा स्थानीय कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन । पुल निर्माणमा ठेकेदारको लापरवाहीले जनताले दुःख पाउँदासमेत सरोकारवाला निकायले चासो नदिएको स्थानीय शेरबहादुर खत्रीले बताए ।

धुलियाविट–भेडावारी सडकलाई डिभिजन सडक कार्यालयले स्थानीय तहको मातहतमा रहेको भन्दै बजेट तथा कार्यक्रम राखेको छैन भने स्थानीय तहले नियमित र मर्मतमा सामान्य बजेट राख्ने गरेका छन् । यसअघि स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमबाट वर्षेनी बजेट आउने गरेपनि त्यो पर्याप्त हुन सकेको थियन् । ३७ किलोमिटर लम्वाईको सडक मात्र रहेका कारण सरकारको केन्द्रीय योजनाबाट विमुख हुन पुगेको हो । विभिन्न समयमा यहीं सडकको स्तरोन्नति र कालोपत्रे दलको चुनावी नारा बन्दै आएको छ । लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले नगरको सम्पूर्ण बजेट खर्चिदा पनि सडकको स्तरोन्नति गर्न सम्भव नरहेको बताए । ‘एक आर्थिक वर्षको पुरै बजेटले पनि सडकको स्तरोन्नति हुने सम्भावना छैन,’ उनले भने, ‘अहिले मदनभण्डारी राजमार्ग अन्तर्गत केन्द्रिय योजना मै परेको छ, आशा गरौं अब जनताले धेरै दुःख पाउनुपर्ने छैन ।’ सडक स्तरोन्नति भए पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउने छन् । सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ ।

 

Translate »