सांसदहरुले दशैं भत्ता नलिने

कात्तिक २, काठमाडौं ।
कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन् भने अर्का नेता भीम रावलले पनि रकम नलिने घोषणा गरेका छन् ।आइतवार विहान एक ट्वीट मार्फत नेता रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गरेका छन् ।

रावलले भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’ रावलले दशैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने पनि बताएका छन् । संसद सचिवालयले सांसदहरुलाई दशैं भत्ता दिएको भनी सर्वत्र आलोचना भइरहेको छ । कानुनमा विशेषगरी सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ । संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन ।

Translate »