सुर्खेतका बजारमा ग्राहक नआउँदा व्यापार बढेन्

साना तथा मझौला व्यवसायी बढी मारमा

स्काइ न्यूज / कार्तिक १, सुर्खेत ।
बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ । बढ्दो कोरोना संक्रमण डरले ग्राहक बजारमा नआउँदा व्यापारी चिन्तित भएका छन् । कोरानाकै कारण धेरै खुद्रा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । संक्रमण बढ्ने डरले ग्राहक बजारमा ननिस्कँदा उनीहरु मर्कामा परेका छन् । सात महिनाको लकडाउनले सबै खुद्रा व्यवसायीहरु ऋणमा डुबेका हुन् । ऋणको भारले थिचिए पनि साना व्यवसायी अहिले चाडपर्वको झिनो आशा लिएर व्यवसाय चलाउन थालेका छन् । बजार खुल्ला गरे पनि कोरोना संक्रमण हुने डरले ग्राहक बजारमा जाँदैनन् । सात महिनादेखि ऋणमा डुबेको र ग्राहक नआउँदा विस्थापित हुने मनस्थितिमा पुगेको वीरेन्द्रनगरका व्यवसायी रमेश शाहको भनाइ छ । ‘कोभिड– १९ का कारण कोठा भाडादेखि छोराछोरीको विद्यालय शुल्कले सताइरहेको छ । लकडाउनमा घरभाडा, कर, बैंकको किस्ता तिनुपर्ने तर व्यापार शून्यको अवस्थामा छ,’ उनले भने, ‘सरकारले नै व्यापारीलाई राहतको व्यवस्था नगरे व्यवसायीलाई गुजारा चलाउनै कठिन हुन्छ । यस्तो अवस्थामा सरकारले न्यून व्याजदरमा ऋण उपलब्ध गराएमा व्यापारलाई चलायमान बनाउन सहयोग पुग्थ्यो ।’ सरकारले बैकको व्याजदर मिनहा वा न्युन गरेमा सात महिनाको लकडाउनले थिलथिलो भएका साना व्यापारी तथा व्यवसायीहरुलाई राहत पुग्ने उनको भनाइ छ । आर्थिकरुपमा निकै घाटामा रहेका व्यापारीहरु आफ्नो व्यापारलाई सामान्य अवस्थामा फर्काउन कठिन भइरहेको बताउँछन् ।


चाडपर्व नजिकिँए पनि व्यापार बढेन्
चाडपर्व नजिकिँदै गर्दा सधैजसो किनमेल गर्नेको चहलपहल र भीडभाड लाग्ने मुख्य व्यापारिक क्षेत्र यतिबेला सुनसानजस्तै देखिन्छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले बजार पसल सुनसान बनेका हुन् । किनमेल गर्नेको चहपहल हुने सुर्खेतका विभिन्न व्यापारीक केन्द्रमा सामान खरिद गर्ने ग्राहक जान डराउने गरेका छन् भने उपभोक्ताको क्रयशक्ति पनि घटेको छ । दशैंअघि लत्ताकपडा तथा खाद्यान्नसहित सवारीसाधन र मोबाइललगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन गरे पनि यस वर्ष बजारमा चहलपहल देखिदैन् । अघिल्ला वर्ष बजारका पसलमा ग्राहकको बढी नै भीडभाड लाग्ने गरेको थियो । तर यसपटक बजार खुला भएपनि कोरोना भाइरसको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ । प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा सडकपेटीदेखि ठूला डिर्पाटमेन्टल स्टोरमा सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको थियो । तर यो वर्ष कोरोना भाइरसले गर्दा आम्दानी नहुँदा सामान किनमेल गर्ने ग्राहक नै नभएको व्यवसायीको भनाइ छ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले कोरोना भाइसले व्यापारमा ठूलो असर परेको बताए । होलसेल पसलमा सामान्य व्यापार भएपनि खुद्रा पसलमा कारोबार शून्य अवस्थामा रहेको उनले जानकारी दिए । ‘चाडपर्वको बेला वर्षभरीको व्यापार हुने सिजन हो,’ उनले भने, ‘यो वर्ष कोराना भाइरसले गर्दा व्यापार नहुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।’ लकडाउन, निषेधाज्ञाले लामो समय सम्म बन्द भएका पसल बजार खुला भएपनि व्यापार हुन नसकेको उनको भनाइ छ । लामो समयदेखि व्यापार नहुँदा सबैभन्दा धेरै असर मध्ययम र साना व्यवासयीलाई परेको उनको भनाई छ । चाडपर्वमा व्यापारिक हाउसले सामान विकाउन विभिन्न अफर योजना ल्याउने गरेकोमा यो वर्ष भने त्यस्ता विशेष अफरसमेत देखिँदैनन् । वीरेन्द्रनगरका ऐरीचोक, वीरेन्द्रचोक चोक, तत्लोबजार, मंगलगढी चोक, बुद्धपथ, न्यूरोड, हटियालाईन, दोदामहल लाईन, जुम्ला रोड, एयरपोर्ट चोक, पिपिरा, कालिन्चोक लगायतका अन्य व्यापारिक क्षेत्रमा कारोबार बढ्न सकेको छैन । होलसेल बजारमा ५० प्रतिशत व्यापार भए पनि खुद्रा पसलमा व्यापार कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ । अहिले लत्तकपडा, जुत्ताचप्पल, अतिआवश्यकका वस्तुमा सामानमात्र बिक्री हुने गरेका छन् ।

गत वर्ष न्यूरोडका पसललगायत सडकमा दशैका लागि सपिङ गर्ने मानिसको भीडसँगै धेरै हुने गथ्र्याे । तर अहिले साल सुनसान छन् । कोरोनाले गर्दा निकै प्रभावित भएको यो क्षेत्र व्यापार हुने सिजनमा पनि कारोबार नहुँदा धेरै नै असर पारेको न्युरोडका व्यापारी दिनेश गौतमले जानकारी दिए । दशैको बेला धेरै व्यापार हुने गरेको बताउँदैे उनले यो वर्ष कोराना भाइरसले सामान खरिद नै गर्न नआएको बताए । ७ महिनादेखि आम्दानी गुमेकाले आवश्यक पर्ने सामान बाहेक ग्राहक सामान खरिद गर्न नआएको उनको भनाइ छ । चाडपर्वको सिजनमा पनि व्यापार नहुँदा व्यवसाय कसरी सञ्चालन गर्ने भनेर अधिकांश व्यापारी चिन्तित छन् । दशैलाई लक्षित गरेर ल्याइएका सामान चिन नाकामा रोकिएकाले काठमाडौंसँगै सुर्खेतमा पनि समस्या परेको व्यवसायीको भनाई छ । आयात भएको सबै सामान नाकामा रोकिएका कारण बजारमा नयाँ सामानको समेत अभाव हुन थालेका छन् । सर्वसाधारणले बजारमा सामान किन्न आए पनि नयाँ सामानको अभावले गर्दा समस्या देखिन थालेको उनीहरुको भनाइ छ । एकातिर नाकामा रोकिएर सामान आयात भएको छैन भने अर्कोतिर बजारमा भएका सामान पनि बिक्री हुन छोडेको व्यवसायी बताउँछन् । कोरोनाले गर्दा यो वर्षको दशैंको माहोलमा ५० देखि ७० प्रतिशतले व्यापारमा कम भएको व्यवसायीको भनाई छ ।

Translate »