प्रधानमन्त्री रोजगार कार्यक्रममा ६ हजार सूचीकृत

कात्तिक १,काठमाडौं ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा ६ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि जुम्लाका चार स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस)मा सूचीकृत भएका हुन् । सूचीकृत हुनेमा तिला गाउँपालिकामा १ हजार २६२, हिमा गाउँपालिकामा २ हजार १६५, सिञ्जा गाउँपालिकामा १ हजार ७०३ र पातारासी गाउँपालिकामा १ हजार २८३ व्यक्ति रहेका सिञ्जा गाउँपालिका रोजगार अधिकृत इन्द्रराज गिरीले बताए । सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएको समयावधिभित्र फाराम भरेका २ हजार ८७६ बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका २ हजार १६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।

सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज भण्डारीले बताए । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञ भण्डारीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका आठवटै स्थानीय तहलाई ५१ लाखका दरले रकम अनुदान प्रदान गरिसकेको यहाँका रोजगार शाखाले जनाएका छन् । यस वर्ष विश्व बैंक सँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करिब पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्बभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ । (नेपाली पब्लिक)

 

Translate »