सुर्खेतमा प्रभावकारी बन्दै नेपाल खाद्यको अनलाइन कारोबार

स्काई न्यूज /कात्तिक १, सुर्खेत ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेतमा अनलाइन कारोवार प्रभावकारी बन्दै गईरहेको छ । कम्पनीले निशुल्क होम डेलिभरी सेवा सञ्चालनमा ल्याएपछि अनलाइन कारोवार प्रभावकारी प्रभावकारी बन्दै गएको हो । कोरोना महामारीमा कम्पनीले गत बैशाखदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा अनलाइनबाट खाद्यान्न होम डेलिभरी सेवा सञ्चालनमा ल्याएपछि उपभोक्ता माँझ प्रभावकारिता बन्दै गएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले कोरोना महामारीका वीच अनलाईन अर्डर लिएर होम डेलिभरी सेवा मार्फत दैनिक ३/४ वटा अर्डर आइरहेको बताए । उनले नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट चाहिएको सामान घरमै पु¥याउने गरी सेवा उपलब्ध रहेको जनाए । उनका अनुसार कम्पनीसँग हाल सोना मनसुली, जापनिज चामल, कर्णालीको सिमी उपलब्ध छ । ‘लकडाउनको समयमा उपभोक्तालाई सहज होस् भन्नका लागि घरमै खाद्यवस्तु डेलिभरी सुरु गरेका थियौं,’ उनले भने, ‘शुरुका दिनमा नजिकैको क्षेत्रबाट शुरुवात गरेपनि निकट भविष्यमै जिल्ला आसपासका शहरका आम उपभोक्ताको घरदैलोमै होम डेलिभरी गर्ने छौं ।’ उनले खाद्य कम्पनीसँग उपलब्ध खाद्यान्न खरिद गर्न चाहनेले प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको खरिद गर्नसक्ने जानकारी दिए ।

कम्पनीले नेपाल बैङ्क लिमिटेड, सेन्चुरी बैङ्क, खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरेको छ । यसबाट अनलाइन पेमेन्टलाई प्रोत्साहित गरी रकम आदानप्रदान गर्न नपर्ने अवस्थाको सिर्जना गर्न खोजिएको उनको भनाई छ । घरमा खाद्यान्न मगाउँदा अनलाइन पेमेन्ट पनि गर्न सकिने छ भने सामान पु¥याउन आउने व्यक्तिलाई नगदै दिने गरी कारोबार गर्न सकिने व्यवस्था समेत मिलाईएको उनले जानकारी दिए । उनका अनुसार कम्पनीमा अहिले चामल र कर्णालीको सिमी बजारको तुलनामा सस्तो मूल्यमा बिक्री भईरहेको छ । हाल थोरै सामान बिक्री गरिरहेको कम्पनीले विस्तारै ग्राहकको मागलाई ध्यानमा राखेर दालका परिकार पनि बिक्री गर्ने योजना बनाइसकेको बताएको छ । अहिलेसम्म निजी क्षेत्रबाट सञ्चालित अनलाइन पोर्टलहरुले मात्रै होम डेलिभरीको व्यवस्था गर्दै आएकोमा सरकारी खाद्य कम्पनीले यो सेवा सुरु गरेसँगै बजार मूल्यदेखि गुणस्तरीयतामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । उपभोक्ताले सरकारले तोकेकै मूल्यमा सामान खरिद गर्न पाउने छन् भने बजार मूल्य नियन्त्रणमा सघाउ पुग्ने कम्पनीको विश्वास छ । कर्णालीमै सरकारी कम्पनीहरुले अनलाइनमार्फत सेवा दिन थालेको यो नै पहिलो पटक हो ।

अहिले कम्पनीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुर्खेतमा सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याएको छ । सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता खुसी भएका छन् । सुपथ मूल्य पसलमा सोना मन्सुली चामल प्रतिकिलो ४५, सोना मन्सुली स्टिम चामल प्रतिकिलो ५७, जापानीज चामल प्रतिकिलो ५१ रुपैयाँ ५० पैसा, मकवानपुर चामल प्रतिकिलो ४८ रुपैयाँ ५० पैसा, स्टिम जिरा चामल प्रतिकिलो ६० रुपैयाँ र कर्णालीको सिमी प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा किलोमा ५ देखि १० रुपैयाँसम्म छुट गरिएको छ । कम्पनीका अनुसार छिट्टै चिनी, नून, दाल, पिठो, तेल, केराउ दानालगायतका सामाग्री समेत उपलब्ध हुने छन् ।

 

Translate »