बाढीले क्षति गरेको रामारोशनमा विद्युत सेवा सुचारु

असोज ३०,अछाम ।
बाढी र पहिरोले संरचनामा क्षति गरेपछि अवरुद्ध बनेको अछामको रामारोशन मुजाबगर क्षेत्रको विद्युत सेवा सञ्चालन ल्याइएको छ । राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सञ्चालनमा ल्याईएको हो । गत भदौ २ गते रातिको बाढी र पहिरोले विद्युत पोल बगाई अन्य संरचना समेत क्षति गरेको रामारोशन क्षेत्रमा विद्युत लाईन मर्मत र विस्तार गरेपछि गाउँपालिकाको केन्द्र मुजाबगरमा उदघाट्न सहित ग्राहकलाई मिटर वितरण गरिएको हो । गजडबजार हुँदै मुजाबगरसम्म पोल गाडेर लाईन बिस्तार गरेर विजुली जलाईसकेपछी गाउपालिका अध्यक्ष झँकर बहादुर साउद(भाष्कर)ले बत्ती जलाएर उदघाट्न गरे । बत्ती जलाईसकेपछी अध्यक्ष साउदले मुजाबगरमा व्यापारी र स्थानीय गरि ४३ जनालाई विद्युत मिटर समेत हस्तान्तरण गरे। बाढी पहिरो पछि सबैको सहयोगमा अबरुद्ध विद्युत सेवा सूचारु गर्न सफल भएको उनको भनाइ छ ।

वडादशैँ अगाडी नै आफ्नो विद्युत पुर्याउने लक्ष्य रहेको र सोही अनुरुप १० दिन अगाडी मुजाबगरमा राष्ट्रिय प्रशारण लाईनको विद्युत बालिएको भन्दै अध्यक्ष साउँदले तीब्रताका साथ विद्युत पुर्याउन सहयोग गर्ने कर्मचारी तथा सबै सरोकारवालालाई उनले धन्यवाद दिए । अब चाँडै खालबजार हुँदै भटाकाटिया र बाटुलासैनमा समेत बत्ति पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । बिनासकारी बाढीले तहसनहस बनाएको सडकको मर्मत गरेर अहिले सुचारु गरिसकेको बताउदै गाउँपालिकालाई पुरानै अवस्थामा फर्काउनको लागि सिंगो गाउँपालिका निरन्तर रुपमा लागिरहेको बताए। सबैलाई विद्युत सेवाको पहुँचमा पुर्याउन आफुहरु लागिरहेको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख विजय राज रेग्मीको भनाइ छ । भदौ २ गते राति अछामको रामारोशन ५ मा रहेको सैनिबजार बगाउँदा १७ जना बेपत्ता भएकोमा ८ जनाको शव प्राप्त भएको र अझै ९ जना हराईरहेका छन् । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल, सयौँ रोपनी खेतीबारी बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Translate »