‘खजुरा ग्रीन सिटी’को गुरुयोजना पर धकेलियो

 

स्काई न्यूज/असोज ३०,बाँके ।
कोभिड–१९ महामारीको कारण बाँकेको खजुरा गाउँपालिकाको ‘खजुरा ग्रीन सिटी’(खजुरा हरित शहर) गुरुयोजनाको काम प्रभावित भएको छ । सन् २०२० देखि सो हरित खजुरा गुरुयोजना सञ्चालनका लागि खजुरा गाउँपालिका र संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेशनबीच एक वर्षअघि सम्झौता भएको थियो । सम्झौताअघि संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेशनका उच्चस्तरीय प्रतिनिधिले गरेको स्थलगत सर्भे, समुदायसँगको छलफलपछि उक्त गाउँपालिकालाई कार्यक्रममा समेटिएको हो । ‘एक वर्षअघि उज्वेकस्तानमा भएको ‘ग्रीन एकोनोमी’ कार्यक्रममा खजुरामा ‘हरित कृषि र हरित शहरीकरण’का लागि संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेशन र गाउँपालिकाबीच सम्झौता भएको हो,’ अध्यक्ष कक्षपतिले बताए ।

उनका अनुसार उक्त गुरुयोजना सञ्चालनका लागि संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेशनले विकासमा चीनको युसी शहरले अपनाएको मोडल (नमूना) तय गरेको छ । सोही मोडललाई अन्तिम रूप दिन गत मार्च (चैत) महीनामा चीनको बेइजिङमा तय गरिएको कार्यशाला कोभिड–१९ को विश्वव्यापी महामारीका कारण स्थगित भएपछि गुरुयोजनाको कार्यक्रम अघि बढ्न सकेको छैन । झण्डै २ अर्ब रुपैयाँ लागतको उक्त गुरुयोजनाले मुख्यतया खजुराको कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यससँगै वृक्षरोपण, कृषिको बजारीकरण, उन्नत जातको बीउबीजनको उपलब्धता, विद्युतीकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योगलगायत विषय पनि प्राथमिकतामा परेका छन् । खजुरामा १५ वर्षभित्र नमूना गाउँपालिकाका लागि सबै मापदण्ड पूरा गर्न सकिने भन्दै अध्यक्ष कक्षपतिले त्यसका केही आधार रहेको र पाँच वर्षमा सबै आधार तय हुने बताए ।

Translate »