अझै शुरु भएन विद्युतगृह निर्माण कार्य

सुस्तायो भेरी–बबई डाइभर्सन आयोजना

स्काई न्यूज /असोज २९, सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम ३० प्रतिशत सम्पन्न भइसक्दा समेत विद्युतगृह निर्माणको टुंगो लागेको छैन । यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढाएको छ । आयोजनामा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ निर्माणसम्पन्न गरेको एक वर्ष पुगिसक्दा समेत बबईमा विद्युतगृह (पावरहाउस) निर्माणको कुनै सुरसार छैन । त्यस्तै भेरीमा बाँध (ड्याम) साईटको काम समेत विभिन्न बहानामा सोचे जति प्रगति हुन नसक्दा आयोजना तोकिएककै समयमा सम्पन्न हुनेमा आशंका उब्जिएको हो । सुरुङ खन्ने काम निकै तीब्र गतिमा भएपनि त्यहाँबाट पानी ल्याएर विद्युत उत्पादन गर्नुपर्ने विद्युत गृहको काम सँगसँगै लैजान नसक्दा यो आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखिएको छ भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण थालिएको थियो । भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्रको १२ किलोमिटरसुरुङ खन्ने काम लक्ष्यभन्दा १० महिना अगावै सम्पन्न भइसकेको छ । अहिलेकै गतिमा आयोजना अघि बढे तोकिएको समयमा काम सम्पन्न नहुने आशंका प्रवल देखिएको जानकार बताउँछन् । यता भेरी बबई डाईभर्सन आयोजनाका ईन्जिनियर शम्भुराज पण्डितले आयोजनाको दोस्रो चरण अन्र्गत गत वर्षको भदौंदेखि शुरु भएको (ड्याम साईट) बाँध स्थल निर्माण कार्य कोरोना महामारी (कोभिड–१९) लगायतका कारणले भौतिक प्रगति केही कम देखिएको बताए । उनले यस वर्ष मनसुन सोचे भन्दा पहिले नै शुरु भएकाले बाँध साईट (कफर ड्याम) बनाउने कार्यमा समेत बाँधा अड्चन पुग्न गएकाले ढिलाई हुन गएको जनाए । ‘पहिले बनाएको (कफर ड्याम) वर्षातमा बाढीले केही क्षति पु¥याएपनि अहिले नदीको पानी कम हुँदै गईरहेकाले निर्माण कार्य अब तीव्रगतिमा अघि बढ्छ,’ उनले भने, ‘बाँधको फाउण्डेशन पुरा हुने वित्तिकै अन्य कामहरुले गति लिने हुँदा त्यसअघि पूर्वाधार निर्माणका लागि नदीको पानी डाईभर्ट कार्य, मेचिङ्ग प्लान्ट निर्माण, कंक्रिट प्लान्ट निर्माण, रोडहरु बनाउने काम, आवास निर्माणलगायतका काम भईरहेका छन् ।’ उनले बाँध र विद्युत गृह बनाउने जिम्मा एउटै ठेकेदारको भएकाले पहिले ड्याम साईटको फाउण्डेशनको काम जोड दिईएको जनाए । उनका अनुसार सोचे अनुसार निर्माण कार्यले प्रगति गर्न नसकेको खण्डमा एकै साथ दुबै साईटमा निर्माण गरिने छ ।

उनले आयोजना निर्माण कम्पनीलाई पहिलो चरणमा भेरीमा बाँध (ड्याम) र दोस्रो चरणमा बबईमा विद्युतगृह (पावसहाउस) निर्माणको प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको जनाए । उनका अनुसार अहिले बाँध साईट निर्माणकै कार्यमा जोड दिन लगाईएको छ । यद्यपि ! आयोजना पक्षले त्यसो बताएपनि राष्ट्रिय गौरवको आयोजना भेरी–बबईको बाँध (ड्याट साईट) कै निर्माण प्रगति अति कमजोर देखिएको छ । हेडवर्क्स, पावर हाउस, सर्ज साफ्ट, पेनस्टकजस्ता सिभिल संरचनाको काम भने अझै बाँकी रहेकाले सरोकारवाला चिन्तित भएका छन् । आयोजनाले २०६४ सालदेखि नै प्रत्येक वर्ष सरदर एक अर्ब रुपैयाँ खर्च गर्दे आईरहेको छ । आउँदो दुई वर्षभित्र कुनै बाधा अड्चन नआएमा ड्याम र विद्युतगृह निर्माण सम्पन्न हुनेमा अझैपनि आयोजना पक्ष विश्वस्ट रहेको छ । ड्याम निर्माणस्थलमा पक्की पुल पनि निर्माण गर्नुपर्ने हुन्छ । पाँच मिटर चौडाइको १२३ मिटर लामो पुल पनि ड्यामसँगै निर्माण सम्पन्न गर्नुपर्छ । हाल ती सब कामको कुनै शुरुवात हुन सकेका छैनन् । दोस्रो चरणको ठेक्का अन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माणको कार्यको जिम्मा चिनियाँ कम्पनी गुआंग्डोङ तथा नेपालको रमण निर्माण जेभीले पाएका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युतगृहलगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको कम्पनीले सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।


चुनौती थपिँदैछन्
कर्णालीको समृद्धिसँग जोडिएको आयोजनामा बेला–बोल आउने विभिन्न प्रकारका अवरोधले तोकिएकै समयमा सम्पन्न हुनेमा अर्को आशंका बढेको छ । स्थानीय र निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन÷रमन जेभीका प्रतिनिधि वीच उत्पन्न विवादमा आयोजना कार्यालयले मध्यस्तकर्ताको भूमिका खेल्न नसक्दा थप जटिलता बढ्दै गएको छ । निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन÷रमन जेभीले स्थानीयबाट उत्पन्न बारे आयोजना कार्यालय सुर्खेतसँगै मुख्य कायालय काठमाडौंमा पटक–पटक जानकारी गराउँदा समेत मौन रहेको जनसम्पर्क अधिकारी पिताम्वर सापकोटा बताउँछन् । उनले आयोजना कार्यस्थलमा निर्माण कम्पनीले भोग्नु परको समस्या बारे आयोजना प्रमुखलाई जानकारी गराउँदा समेत चित्त बुझ्दो उत्तर पाउन नसकिएको जनाए । उनका अनुसार यस्ता समस्या ठेकेदार कम्पनी स्वयंमले मिलाउनुपर्ने र यसमा आयोजनाले केही गर्न नसक्ने जस्ता जवाफ पाईन्छ ।
प्राविधिक समस्या उस्तै
आयोजना तोकिएकै समयमा सम्पन्न गर्न केही प्राविधिक समस्याहरु देखा पर्न थालेका छन् । फाईनल डिजाईन गरिएपछि सोही अनुसार ठेकेदार कंपनीले काम शुरु गरेपछि कुनै समस्या देखिएमा डिजाईन परिमार्जन गर्नुपर्ने चलन छ । तर ठेकेदार कम्पनीले काम शुरु गरेको एक वर्ष भन्दा बढी भईसक्दा समेत पुनः डिजाईनको काम हुन नसक्दा निर्माण कार्यमा ढिलासुस्ती भईरहेको प्राविधिकहरु बताउँछन् । आयोजनाको मुख्य भाग मध्येको एक पावरहाउस निर्माण कार्य रि–डिजाईनको अभावमा हालसम्म निर्माण कार्य शुरु नै हुन सकेको छैन् । ठेकेदार कम्पनीका अुनसार साइट हस्तांतरण कार्य हुन नसकेकाले हालसम्म पावरहाउस निर्माण कार्य शुरु गर्न नसकिएको हो । नियमतः गौरवका आयोजना निर्माण कार्यमा आयोजना तथा कन्सल्टेन्टको अनिवार्य उपस्थिति हुनुपर्ने भएपनि हालसम्म उनीहरुको उपस्थिति रहेको छैन् । प्रत्यक्ष सरोकार राख्ने निकायको अभावमा एक वर्ष वित्नै लाग्दा समेत तोकिएको समयमा पावर हाउस निर्माणको काम शुरु हुन नसक्दा ठेकेदार कम्पनी समेत हतोत्साहित भएको बताउँछ । कम्पनीका जनसम्पर्क अधिकारी सापकोटाले प्रोजेक्टको डिजाईन वीचमै बद्लिने, साईट समयमा हस्तान्तरण नहुँने, ठेकेदारलाई समयमा भुक्तानी दिन नसक्ने जस्ता समस्याले आयोजना निर्माण कार्यमा ढिलाई हुने गरेको बताए । उनले पाँच वर्ष भित्रै सक्नु पर्ने आयोजनाको काम एक वर्ष वितिसक्दा समेत सन्तोषजनक कार्य प्रगति हुन नसकेको जनाए ।

Translate »