ध्यानाकर्षणपत्र बुझाउन गएका विद्यार्थी पक्राउ

स्काई न्यूज / असोज २९, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिलाई ध्यानाकर्षण पत्र बुझाउन गएका नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थी पक्राउ परेका छन् । विद्यार्थीका विभिन्न समस्यासहित विश्वविद्यालयमा भईरहेको अनियमियततालगायतका बारेमा विहीबार विश्वविद्यालयमा ध्यानाकर्षण पत्र बुझाउन आएका नेविसंका विद्यार्थी नेताहरुले उपकुलपति नन्दबहादुर सिंहमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र भट्टले उपकुलपतिसँग विद्यार्थी नेताहरुले विवाद गर्न थालेपछि नियन्त्रणमा लिइएको बताए । उनले अभद्र व्यवहारमा नेविसंघ मप विश्वविद्यालय संयोजक अनिलबहादुर शाहीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

नेविसंघले ध्यानकर्षण पत्र मार्फत लकडाउन अवधिभरको सम्पूर्ण शुल्क मिनाह गर्नुपर्ने, आंशिक क्याम्पस र स्कुलहरुले असूल गरेको शुल्क फिर्ता गर्नुपर्ने, दोहोरो परीक्षा शुल्क असुल गरेको विषयमा छानविन गर्नु पर्ने, इन्जिनियरिङ संकाय अन्र्तगत हाइड्रोपावर विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरि सञ्चालन गरिएकोमा हाल विद्यार्थी बाहिरिँदा समेत यसको कुनै प्रक्रिया अगाडि नबढेकाले तत्काल काउन्सिलमा दर्ता गर्नु पर्ने, अनलाईन परीक्षालाई व्यवस्थित गरी मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने एवं ऐन, नियम र कार्यविधि विपरित विश्वविद्यालयलाई आर्थिक मार पर्ने गरि राजनीतिक आस्थाकै भरमा विना विज्ञापन कर्मचारी भर्ना, स्वकीय सचिव तथा सल्लाहकार हटाउन माग गरेको छ । यता नेविसंघ केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाद्वारा हस्ताक्षारित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीका समस्या तथा शैक्षिक मुद्दाहरुमाथि ध्यानाकर्षण गराउन गएका विद्यार्थी नेताहरुमाथि भएको निर्घात कुटपीटपछि उपचार गुर्नको साटो उल्टै पक्राउ गरेर प्रहरी नियन्त्रणमा राख्नु गलत भएको भन्दै तत्काल रिहाई गर्न माग गरिएको छ ।

Translate »