बालबाल जोगियो महेन्द्रबहादुर शाहीको ‘मुख्यमन्त्री पद’

बालुवाटरले शान्त बनायो कर्णालीको विद्रोह

स्काई न्यूज / असोज २७, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको दुबै पद हाललाई सुरक्षित भएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुमध्ये कालिकोटका कुर्मराज शाहीलाई दलको सचेतक, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटाका करवीर शाहीलाई मन्त्री बनाउने सहमति भएपछि मुख्यमन्त्री शाहीको दुबै पद सुरक्षित भएका छन् । आफ्नै दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि खतराको कालो बादल भित्र मण्डराउन पुगेका महेन्द्रबहादुर शाहीको दुबै पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो । मगंलबार बालुवाटारमा छलफलमा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच उक्त सहमति बनेपछि सोही अनुसारको निर्देशन कर्णाली प्रदेशमा लागु गरिएको हो । नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव ) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीतर्फका नेताहरुलाई समेत बालुवाटारबाटै ‘यूटर्न’ हुन संकेत दिइएको छ । मंगलबार बिहानमात्रै प्रधानमन्त्री ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन टेलिफोनबाट दिएका थिए । तर, शाहीको मुख्यमन्त्री पद जोगिनुमा प्रदेशस्तरीय नेताहरुको भागवण्डा नै अर्थपूर्ण बन्यो ।

आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका नेताहरु समेत सुर्खेत पुगेका थिए । सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल सुरु भएको थियो । राति अबेरसम्म छलफल चले पनि सोमबार सहमति जुट्न सकेन । यसपछि मंगलबार बिहानै प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भयो र जसरी पनि मिल्न दबाब दिइयो । मंगलबार बिहानबाट फेरि सुरु भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने अनि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुट्यो । सहमतिअनुसार, अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको संसदीय दलको बैठकमा नेता नेपाल र माओवादी तर्फका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आफैं अल्पमतमा प¥यो । कर्मराज शाहीलाई तत्काल सचेतक नियुक्त गरेर मुख्यमन्त्री शाहीले आफ्नो पद जोगिएको सन्देश दिएका छन् । दुई समूहबीचको सहमतिमा मुख्यमन्त्री शाहीले नेता नेपाल पक्षका थप तीनजनालाई मन्त्री बनाउने सहमति जुटेपछि तत्काललाई खतरा घण्टी हटेको हो । नेकपाको केन्द्रीय राजनीतिमा देखिएको प्रचण्ड–नेपाल समीकरण मुख्यमन्त्री शाहीको पद जोगिने आधार बन्यो । अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्डले लगातार भेटवार्ता र फोन सम्वाद गरेका थिए । प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र नेता नेपालसँग भेटेरै शाहीलाई जोगाउन आग्रह गरेका थिए । मंगलबार दिउँसो पनि सुर्खेतमा सहमति जुट्दै गर्दा कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै थिए । केन्द्रीय तहका शीर्ष नेताहरुको निर्देशनपछि अविश्वासको प्रस्तावमाथि छलफलसँगै निर्णय गर्ने भन्दै मंगलबार तय गरिएको बैठक स्थगित भएको छ । योसँगै अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रमा सहमति भएसँगै अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको हो । कामकारबाही प्रभावकारी नभएको भन्दै आइतबार मुख्यमन्त्री शाहीविरुद्ध पूर्वमाओवादी पृष्ठभूमिका खासगरी प्रचण्ड समूहका तीन जना, पूर्व एमाले पृष्ठभूमिका ओली समूहका ८ जना, नेपाल समूहका ७ जना गरी १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको पत्र दर्ता गराएका थिए । ओली समूहका नेताहरुले भने सुरुमा स्वतस्फूर्त रुपमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको र अहिले पद पाएपछि हस्ताक्षर फिर्ता लिएको नेपाल र प्रचण्ड समूहका सांसदहरुलाई आरोप लगाएका छन् ।  कर्णाली नेकपामा मुख्यमन्त्री शाहीसँग १३ (पूर्वमाओवादी समूह), यामलाल कँडेलसँग १२ (ओली समूह) र प्रकाश ज्वालासँग ८ (नेपाल समूह) सांसद थिए । अविश्वासको प्रस्तावमा भने तीनजना पूर्वमाओवादीका सांसदले समेत हस्ताक्षर गरेका थिए । यसले मुख्यमन्त्री आफ्नै कारण असन्तुष्टि बढ्दै गएको अनुमान गर्न गाह्रो पर्दैन । माओवादी कोटाबाट शाही कर्णाली प्रदेशका मुख्यमन्त्री निर्वाचित हुनुअघिदेखि नै यामलाल कँडेलले असन्तुष्टि राख्न थालेका थिए । ४० सांसद रहेको कर्णाली प्रदेशमा तत्कालीन एमालेले २० र माओवादीले १३ सिट जितेको थियो । यही संसद समीकरण देखाएर कँडेलले शाहीलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव समेत राखेका थिए । तर, पार्टी केन्द्रको सहमति भन्दै शाहीले कँडेलको प्रस्ताव अस्वीकार गरिदिए । नेकपाका प्रदेश सह–इन्चार्ज रहेका कँडेलले यसपछि लगातार मुख्यमन्त्री शाहीलाई असहयोग गर्दै आएका थिए । सार्वजनिक मञ्चबाट मात्रै नभएर कँडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत असहयोग गरे । कतिसम्म भने चालु आर्थिक वर्ष र गएको वर्षको बजेट आफ्नै पार्टीका सांसदहरुले पारित गराउन नदिएपछि संशोधन गरिएको थियो । तर, मुख्यमन्त्री शाहीलाई नेपाल पक्षले साथ दिँदै आएको थियो ।


सचेतकमा कुर्मराज नियुक्त
मुख्यमन्त्री शाहीविरुद्ध आइतबार नेकपाका १८ जना सासंदहरुले अविस्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले दलका प्रमुख सचेतक ओली निकट गुलाबजंग शाहलाई निलम्बन गरी उनको स्थानमा सिता नेपालीलाई नियुक्त गरेका थिए । कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । सचेतकमा नियुक्त शाही अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने मध्येका एक हुन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद हुन् ।

Translate »