युवाले शुरु गरे सामूहिक जटीबुटी खेती

स्काई न्यूज / असोज २७, खलङ्गा ।
जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जटीबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् । स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रू. ६ लाख अम्दानी गरिएकामा यस वर्ष रू. १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताए । अत्तिसको बीउ प्रतिकिलो रू. ५० हजार र जरा रू. २ हजारमा विक्री हुने गरेको छ । पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जटीबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् । माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमीनमा जडीबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताए ।

उनले भने, ‘लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔंले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडीबुटी फर्ममा लगाएका छौं । सबैभन्दा बढी अत्तिसको बीउ माग भएको छ । पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ ।’ जुम्ला बहुमूल्य जडीबुटीको खानी भएकाले सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् । पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक रू.५०० कमाइ गर्ने युवाले गाउँमै बसी जडीबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताए । सो जडीबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले रू. १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिए ।

Translate »