कर्णालीका मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्तावले नेकपामा खैलाबैला मच्चियो

भोली प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष नेताहरुको बैठक बस्दै


स्काई न्यूज / असोज २५, सुर्खेत ।
कर्णाली प्रदेश सरकार विरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तापक्षकै १८ जना सांसदले आईतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३, काँग्रेसका ६ जना र राप्रपा नेपालका १ जना सांसद रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मी लगायत रहेका छन् । मुख्यमन्त्री शाही संसदीयदलको नेतामा निर्वाचित भएपछि संसदीय दल एवं सरकारका कामकारवाही प्रभावकारी नभएको उनीहरुले आरोप लगाएका छन् । संसदीय दलको विधान २०७५ को नियम २ (१) बमोजिम उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । सोहि नियम २४ को (१,२,३,४) बमोजिम यथासक्य बैठक आयोजना गरी मार्ग प्रशस्त गर्न र प्रस्तावलाई नियम बमोजिम निर्णय गर्न गराउन उनीहरुले आग्रह गरेका छन् । प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय समेत उठाउँदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटक—पटक विवाद हुँदै आएको छ ।

यता प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । तत्कालिन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालिन माओबादीको भागमा परेको थियो । यसैवीच मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ पार्टीकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रमा शिर्ष नेताहरुसँग छलफल गर्ने भएको नेकपा स्रोतले जानकारी दिएको छ । अध्यक्ष प्रचण्डको आग्रहमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा प्रधानमन्त्रीसहितका शिर्ष नेताहरुबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा छलफल हुने भएको छ । शिर्ष नेताहरुको भोलिको छलफलले मुख्यमन्त्री शाहीविरुद्ध दार्ता भएको अविश्वासको प्रस्तावका बारेमा निर्णय लिनसक्ने बुझिएको छ । नेकपा संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध आइतवार १८ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा संसदीय दलमा दर्ता गराएपछि नेकपामा पुनः तरंग उत्पन्न भएको हो । कर्णाली प्रदेशमा लामो समयदेखि सत्ता पक्षकै सांसदहरु मुख्यमन्त्री शाहीप्रति असन्तुष्ट छन् ।

Translate »