बढ्दो महँगी रोक्न उपभोक्ता अधिकारकर्मीको माग

राउम वीरेन्द्रनगर संयोजकमा भिमकुमारी भुसाल

स्काई न्यूज / असोज २४, सुर्खेत ।
सुर्खेतका उपभोक्ता अधिकारकर्मीहरुले बजारमा दिनप्रतिदिन बढ्रदो महँगीले उपभोक्तालाई ढाड सेकिरहेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत वीरेन्द्रनगर नगरस्तरीय नगर कमिटी गठन कार्यक्रमका सहभागिहरुले कोरोनाका नाममा कालोबजारी मौलाउँदै गईरहेको बजार अनियन्त्रित भएर दैनिक उपभोग्य वस्तुको खरिदमा उपभोक्तालाई मारमा पारेको बताएका हुन् । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले अखाद्य बस्तु बरामद गरेर पनि व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन नसक्दा उपभोक्ता ठग्ने प्रवृति पटक–पटक दोहोरिने गरेको बताए । प्रशासनले नियमित बजार अनुगमनका क्रममा भेटिएका उपभोक्ता ठग्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको बताएपनि उपभोक्ता अधिकारकर्मीहरु भने यसबाट सन्तुष्ट हुन नसकिरहेको उनको भनाइ थियो । उनका अनुसार अहिले चाडपर्व नजिकिएसँगै खाद्यान्न लत्ताकपडा, तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक बृद्धि भईरहेको छ । त्यस्तै मञ्चका सुर्खेत सदस्य तथा वीरेन्द्रनगर नगर कमिटी संयोजक भिमकुमारी भुसालले चाँडपर्वका बेला बजारमा हुने गरेको दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अनियमितता रोक्न तीनै तहका सरकारले कडाईका साथ अनुगमन बढाउन माग गरिन् ।

उनले चाडपर्व नजिकिएसँगै कतिपय व्यवसायीहरुले म्याद गुज्रेका सामानहरुमा नयाँ मिति टाँसेर समेत उपभोक्ता ठगिरहेको पाइएकाले अनुगमन समिति त्यसतर्फ सचेत हुन सुझाव दिईन् । ‘दैनिक उपभोग्य वस्तुमा देखिने अनियमितता, मिसावट एवं म्याद गुज्रेका वस्तुले उपभोक्ताहरुको स्वास्थ्यमा नराम्रो असर पार्ने काम भईरहेको छ,’ उनले भनिन्, ‘खाद्यान्न लत्ताकपडा, तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको बजार मूल्य एक्कासी बढेकोले मापदण्ड विपरित व्यवसाय गरेका व्यवसायीहरुलाई कडा कारवाही गरिनु पर्छ ।’ उनले सरकारी अनुगमनलाई चाडपर्व केन्द्रित मात्र नगरी अन्य समयमा पनि निरन्तरता दिनुपर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिईन् । उनका अनुसार मुख्य चाडपर्वहरु नजिकिएसँगै बजारमा भीडभाड बढ्ने भएकाले व्यवसायीले झुक्याउने र उपभोक्ता ठगिन सक्ने जोखिम पनि बढी हुन सक्छ  । त्यस्तै राउम वीरेन्द्रनगर नगर समिति सह–सहयोजक राजु केसीले उपभोक्ताको हक, संरक्षणका लागि सरकारका नियमनकारी निकायले गलत गतिविधिमा संलग्नहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सकेमा बजारमा देखिने कृत्रिम अभाव र अनियमितता रोक्न सक्ने बताए । यसैवीच राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको वीरेन्द्रनगर नगरस्तरीय नगर कमिटी गठन गरिएको छ । उपभोक्ता मंञ्च जिल्ला कार्यसमितिको समन्वयमा शनिबार वीरेन्द्रनगरमा भएको भेलाले भिमकुमारी भुसालको संयोजकत्वमा ५ सदस्यीय नगर समिति गठन गरेको हो । नगर समितिको सह–सहयोजक राजु केसी तथा सदस्यहरुमा यामुना थापा, कुमार शर्मा एवं विष्णु कठायत चयन भएका छन ।

Translate »