सुर्खेतमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

तीन वटा अनुगमन टोली परिचालन

स्काई न्यूज  / असोज २३, सुर्खेत ।
सुर्खेतमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले जिल्लाका सबै व्यापारीक केन्द्रका बजारहरुमा जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिने भएको हो । विहीबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नमूना बजार अनुगमनको शुरुवात गरि सकेका छन् । सदरमुकाम वीरेन्द्रनगर स्थित न्यूरोड नजिकैको शितल जनरल स्टोरमा प्रशासकीय अधिकृत श्रीसम्सेर रानासँगै नमूना बजार अनुगमनमा निस्केका प्रजिअ रेग्मीले धेरैजसो समान म्याद गुज्रिने अवस्थामा रहेको पाईएको बताए । उनले त्यस्ता बस्तुलाई समय अगाबै विक्री वितरण गरिसक्न विक्रेतालाई सुझाव दिएको जनाए । ‘दशैं तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्रका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहल पहल बढ्न थालेको छ,’ उनले भने, ‘कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएपछि उपभोक्ताको साथ हुन सक्ने ठगि, जालनेल जस्ता क्रियाकलाप प्रशासनले रोक्छ ।’

उनले बजारमा स्थानीयवासीको सरसामान किन्नेको भीड लाग्न थालेपछि बजार अनुगमनलाई तीव्रता दिन लागिएको जनाए । ‘अनुगमनलाई निकै प्राथमिकतामा राखेर प्रायः दैनिक रुपमै बजार अनुगमन गरिन् गरिेने छ,’ उनले भने, ‘खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भए/नभएको बारे अनुगमन गरिने छ ।’ उनले बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा समेत अनुगमन गरिने जनाए । नागरिकको मागअनुसार जिल्लामा चाडबाडको समयमा कालोबजारी र मूल्य वृद्धि नहोस् भन्ने उद्देश्यले बजार अनुगमन बढ्छ,’ उनले भने, ‘बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइनेछ ।’ सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्ला प्रशासन कार्यालयबाट तीन वटा अनुगमन समिति समेत गठन गरिएको जानकारी दिए । उनले ‘खाद्यान्न, लत्ताकपडा र यात्रामा एक/एक जनालाई जिम्मेवारी दिएर अनुगमन गर्न लागिएको बताए । उनका अनुसार कोभिड–१९, को मौका छोपेर बजारमा गुणस्तरहीन औषधि विक्री वितरण गर्ने, तोकेको भन्दा बढी मूल्य लिने, प्रतिबन्धित औषधि विक्री वितरण गर्ने, अरुको नाममा मेडिकल पसल चलाउने, दर्ता विना औषधि पसल सञ्चालन गर्ने पसललाई कारवाहीको दायरामा ल्याइने छ ।

‘चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौज्जात समेतको विवरण संकलन गरिने छ,’ उनले भने, ‘पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौजातलगायतको विवरण राखिने छ ।’ उनका अनुसार वीरेन्द्रनगरमा सञ्चालित चाडपर्व लक्षित सहुलियत दरका पसलहरुको समेत अनुगमन गरिने छ । ‘सुर्खेतमा विगतको भन्दा शान्ति सुरक्षासँगै बजारमा केही सुधारका लक्षण देखिएका छन,’ उनले भने, ‘प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गरिने छ ।’ उनले स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा समेत जिल्लाका सबै बजारको अनुगमन गरिने जनाए । चाडबाडको समयमा अखाद्य वस्तु विक्री वितरण नहोस् भन्ने हेतुले नियमित अनुगमनलाई प्राथमिता दिईएको उनको भनाइ थियो । यस्तै राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तीव्रता दिईनुपर्ने बताईन् ।

Translate »