२५ सय बढीमा दुबै आँखा नदेख्ने समस्या

कर्णालीमा आँखा सम्बन्धि समस्या बढ्दै


स्काई न्यूज / असोज २२, सुर्खेत ।
कर्णाली प्रदेशमा दुबै आँखा नदेख्ने नागरिकको संख्या २ हजार ५ सय बढी रहेको छ । नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको विश्व दृष्टि दिवसको अवसर पारेर आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय एवं अस्पतालले प्रदेशका दश वटै जिल्लामा गरेको सर्वेक्षणबाट २ हजार ५ सय ६४ जना फेला परेको जानकारी दिएको हो । अस्पतालका निर्देशक डाक्टर शक्तिप्रसाद सुवेदीले प्रदेशभरी दुबै आँखामा न्यून दृष्टि समस्या भएका ३ हजार ५ सय नागरिक रहेको बताए । उनले प्रदेशमा अझै मोतियाविन्दुबाट दृष्टिदोष रहेका ८ हजार नागरिकको सर्जरी गर्नेपर्ने अवस्था रहेको जानकारी दिए । उनका अनुसार प्रदेशको कुल जनसंख्याको १ प्रतिशत अर्थात १८ हजार नागरिक दृष्टिविहिनताको समस्याले ग्रस्त छन् ।

अन्धोपनको मुख्य समस्या रहेको मोतियाविन्दु रोग भएका नागरिकको संख्या कर्णालीमा ६१ प्रतिशत रहेको छ । ‘कर्णालीमा दृष्टि विहिनताको अवस्था अन्त्यका लागि सरकारले प्रदेशस्तरीय नीति नै बनाईनु पर्ने देखिन्छ,’ उनले भने, ‘प्रदेशका हरेक जिल्लामा सर्जिकल केन्द्र स्थापना गर्दे एकीकृतरुपमा साझेदार संस्थासँग प्रदेश सरकार जुटनु पर्ने देखिन्छ ।’ उनले जनसंख्या एवं भूगोलका हिसावले देशका अन्य प्रदेशको तुलनामा कर्णालीका नागरिकको आँखा स्वास्थ्यमा न्यून पहुँच रहेको जानकारी दिए । उनका अनुसार कर्णालीको कुल जनसंख्याको एक तिहाई बढी महिला तथा बालबालिकामा दुष्टि दोषको समस्या रहेको छ । हरेक वर्ष आँखा नदेख्ने नागरिकको संख्या बढ्दै गईरहेकाले राज्यको यसतर्फ विशेष ध्यान केन्द्रित हुन आवश्यक रहेको उनले औल्याए । उनका अनुसार कर्णाली प्रदेशको जनसंख्याका हिसावले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मान्ने हो भनेपनि ३३ जना आँखा रोग विशेषज्ञ हुनु पर्नेमा हाल दुई जना मात्र विशेषज्ञ डाक्टर कार्यरत रहेका छन् । २०६८ को जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १५ लाख ७० हजार ४१८ रहेको छ ।


दिवसमा निःशुल्क आँखा शिविर
‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ विहीबार विश्वदृष्टि दिवस मनाईएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ । जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ । आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ । नेपालमा कुल जनसंख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ । यो समस्या सन् १९८१ को सर्वेक्षणमा शून्य दशमलव ८४ प्रतिशत जनसंख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए पनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको समस्या बढ्दो छ । अहिले कोभिड–१९ को जोखिमका कारण आँखाका बिरामी र समस्या अझ बढ्दै गएका छन् । कोरोना संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन स्वास्थ्य सावधानी अपनाउन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ । दिवसका अवसरमा शुभकामना दिँदै सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले नागरिकको दृष्टिको सुरक्षाका लागि प्रदेश सरकार सचेत रहेको बताए । उनले सरकारले लागू गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न पनि आग्रह गरे ।

‘सबै कर्णाली बासीमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु,’ उनले भने, ‘नागरिकको दृष्टिको सुरक्षाका लागि प्रदेश सरकार सचेत र क्रियाशील रहेको छ ।’ उनले कर्णालीमा सुर्खेत आँखा अस्पतालले आँखा स्वास्थ्यका क्षेत्रमा पु¥याएको योगदान उल्लेखनिय रहेको बताए । कर्णाली प्रदेश सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे प्रदेशभर चेतना फैलाउन आवश्यक रहेको औल्याए । उनले कोभिड १९ को संक्रमण आँखाबाट समेत सर्ने भएकाले जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नपर्ने सुझाव दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका अध्यक्ष रामलाल आचार्यले प्रदेशमा आँखा दृष्टि समस्यालाई न्यूनिकरण गर्न रेडक्रसको योगदान उच्च रहेको बताए । उनले रेडक्रसकै पहलमा सुर्खेत आँखा अस्पताल स्थापना भएसँगै अब व्लड बैंकको भण्डारण स्थापनाका लागि पहल भईरहेको जानकारी दिए । यस्तै सुर्खेत आँखा अस्पताल सञ्चालन समितिका सभापति लिलाराम सुवेदीले सुर्खेतमा आँखा अस्पताल स्थापना भएसँगै ठूल समस्या बाहेक आँखा स्वास्थ्यका समस्याका लागि बाहिर जानु पर्ने बाध्यता हटेको बताए । उनले अस्पताल एक्लैले मात्र प्रदेशभरीका विरामीको सेवा पहु्ँच पु¥याउन बजेट अभावमा कठिनाई भईरहेकाले सरकारी सयन्त्रको सहकार्य आवश्यक रहेको औल्याए । यसैवीच विश्व दृष्टि दिवसकै अवसर पारेर सुर्खेत आँखा अस्पतालले दुई दिने निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको छ । विहीबार र शुक्रबारसम्म १५ जनाको आँखाको शल्यक्रिया, चष्मा, औषधिसँगै डेढ सय थान मास्क वितरण गरिएको अस्पतालका व्यवस्थापक घनबहादुर थापाले जानकारी दिए । उनका अनुसार शिविरमा करिब दुई सय जतिले आँखा सम्बन्धि समस्याको निःशुल्क औषधि एवं परामर्श लिएका छन् ।

 

Translate »