माफियाको कमाउँ धन्दा बन्यो ‘कोराना’

आइसोलेशनका संक्रमितको गुनासो

स्काई न्यूज / असोज २१, सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित अशोका होटलको आइसोलेशनमा उपचाररत कोरोना संक्रमितले राज्यकै संरक्षणमा कोरोना रोकथाम तथा नियन्त्रणका नाममा माफियालाई कमाउने धन्दा भएको बताएका छन् । राज्यका विभिन्न निकायले माफियासँग मिलेर कोरोना रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न भम्रहरु सृजना गरेर कमाई खाने भाडो बनाएको उनीहरुको आरोप छ । बुधबार प्रदेश आयुर्वेद औषधालय सुर्खेतले अशोका होटल आइसोलेशनमा उपचाररत कोरोना संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने निशुल्क औषधि वितरण गर्ने कार्यक्रममा उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यले करोडौं रुपैयाँ पानी झै बगाएपनि आफुहरुले त्यसको कुनै लाभ लिन नसकेको गुनासो गरे । उनीहरुका अनुसार संक्रमित भएर होटलमा बसुन्जेल आफ्नै खर्चमा उपचार गर्नु परिरहेको अवस्थामा राज्यले आर्थिक सहयोग गर्न नसकेपनि कम्तीमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई दिएको भएपनि केही हदसम्म सन्तोष मिल्ने थियो । अशोका होटल आइसोलेशनमा दुई जना महिलासहित २३ जना पुरुष आफ्नै पैसाले बसि रहेका छन् । ‘आइसोलेशनमा बसेका एक पुरुष संक्रमितले भने, ‘होटलमा पर्याप्त सरसफाई समेत छैन् । होटल आइसोलेशन सञ्चालकले कर्मचारी अभावको बहाना बनाएपनि आफुहरुले नगद तिरेपछि त्यही अनुसारको सेवा सुविधा पाउनु प¥यो नीे । आइसोलेशनमा जसोतसो बसेको भएपनि राज्यको चिन्ता र चाँसो नहुँदा थप कष्ठकर बनाएको छ, राज्यले कोरोना रोकथाममा करोडौं रुपैयाँ खर्च गरेपनि त्यो हामीसम्म पुग्न सकेन ।’ उनीहरुका अनुसार आफुहरु कोरोना नफैलियोस् भनेर नै प्राईवेट आइसोलेशनमा बस्दा खर्च कहाँबाट तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । देशका केही स्थानीय तहहरुले कोरोना पोजेटिभ भई होम आइसोलेशनमा बस्नेलाई समेत सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु. ३५० उपलब्ध गराउँदै आएका छन् । तर, हाम्रो कर्णालीका स्थानीय तहले त्यो सुविधा उपलब्ध नगराउँदा हामीलाई धेरै दुःख लागेको छ,’ अर्का कोरोना संक्रमित पुरुषले भने । यता अशोका होटल आइसोलेशन व्यवस्थापन पक्षले भने अन्य आइसोलेशनको तुलनामा सरसफाईदेखि पारिवारिक वातावरणमा अधिकतम् सेवा दिँदै आइरहेको दावी गरेको छ । होटलको ताततातो खानादेखि वेसारपानी, गरमपानी, मनचाहा नास्तासँगै स्याहारसुसारलगायतका सबै सेवा उपलब्ध गराईएको व्यवस्थापनको पक्षको भनाइ छ ।


निःशुल्क औषधि वितरण
प्रदेश आयुर्वेद औषधालय सुर्खेतले कोरोना संक्रमितलाई प्रदेश भरी नै निःशुल्क रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दे आईरहेको छ । औषधालयले बुधबार वीरेन्द्रनगरको अशोका होटल आइसोलेशनमा बसेका २५ जना कोरोना संक्रमितलाई मनोपरामर्श, योग ध्यान, प्रणायामसँगै निःशुल्क रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको हो । औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालका अनुसार संक्रमितलाई च्यावनप्रास, मृगमदास, षड्विन्दु तेल, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, यष्ठिमधु चूर्ण र जडिबुटी चिया नामक औषधि दिइएको छ । सबै औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर कम गर्दै लैजाने डाक्टर रिजालले जानकारी दिए । ‘आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरभित्र असर गर्ने कोरोना भाइरसबाहेक विभिन्न किसिमका सुक्ष्म जीवाणुलाई मार्छ,’ उनले भने, ‘तर अहिलेसम्म कोरोना भाइरसलाई भने नष्ट गरेको पुष्टि भइसकेको छैन ।’ उनले आयुर्वेदिक औषधि नियमित सेवन गर्नाले कुनै असर नगर्ने र बाहिरी भाइरसले भने शरीरमा आक्रमण गर्न नसक्ने उल्लेख गरे । त्यस्तै प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले प्रदेश आयुर्वेद औषधालयले कोरोना संक्रमितको माग अनुसार पर्याप्त आपूर्ति गर्न नसकिरहेको बताए । उनले कोरोना महामारीमा रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधिको माग बढेपनि पर्याप्त बजेट अभावले समस्या भईरहेकाले थप रकमका लागि सरकारसँग समन्वय भईरहेको जनाए । उनका अनुसार नागरिकको आयुर्वेदप्रति बढ्दो विश्वासलाई सम्बोधन गर्न प्रदेश तथा केन्द्रसँग प्रदेश आयुर्वेद औषधालयले निरन्तर प्रयासरत रहेको छ ।

 

Translate »