खानेतेलमा १० प्रतिशत र दालमा १७ प्रतिशतसम्म मूल्य बढ्यो

असोज २१,काठमाडौं ।
गएको १० दिनयता खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा १७ प्रतिशतसम्म मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि खुद्रा बजारमा समेत त्यसको प्रभाव परेर मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ । करीब १० दिन अघिसम्म १ सय ५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य विक्री भइरहेको भटमास तेलको मूल्य अहिले बजारमा १ सय ६५ रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने सनफ्लावर तेल २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यसैगरी धारा तोरीको तेलमा प्रतिलिटर २० रुपैयाँले वृद्धि भई खुद्रा मूल्य २ सय २० रुपैयाँसम्म पर्ने गरेको छ । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यका अनुसार खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीमा १७ प्रतिशतसम्म मूल्य बढेको छ । बिस्कुट, दालमोठ, सोयाबिन, जामलगायत दैनिक उपभोग्य अन्य वस्तुको समेत मूल्य बढेको छ । दशैंसम्म अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए । ‘थोक बजारबाट नै मूल्य बढेर आएपछि हामीले पनि मूल्य बढाएर बेच्नु परेको हो,’ उनले भने । करीब १० दिनअघि प्रतिकिलो १ सय २० रुपैयाँ रहेको मसिनो मुसुरोको दालको खुद्रा मूल्यमा करीब १७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ४० रुपैयाँ पुगेको छ ।

मोटो मुसुरोको दालको मूल्यमा १५ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय २५ रुपैयाँ पुगेको छ । त्यसैगरी मासको दालको मूल्य पनि करीब ७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँ पुगेको छ । सेतो केराउको खुद्रा मूल्यमा १० रुपैयाँ वृद्धि भई प्रतिकिलो ७० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ । ठूलो (मौसमी) चनाको मूल्य प्रतिकिलो १ सय ४० बाट १ सय ५० र सानो चनाको मूल्य प्रतिकिलो १ सय २० बाट १ सय ३० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले बताएको छ । दशैंतिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै जाँदा तेलको माग बढ्ने भएकाले मूल्य वृद्धि भएको व्यापारीहरू बताउँछन् । अन्तरराष्ट्रिय बजारमा समेत खानेतेल र दालको कच्चा पदार्थको मूल्य बढेका कारण मूल्य बढेको दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए । उपभोक्ता अधिकारकर्मीहरू भने अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्ने नाममा महीना दिन अघिदेखि आफ्नो गोदाममा मौज्दात गरेर राखेका सामानको मूल्य व्यापारीहरूले बढाउनु उचित नभएको बताउँछन् ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको बहानामा व्यापारीहरूले पहिलेदेखि नै गोदाममा भण्डार गरेर राखेका सामानको मूल्य बढाउनु उपयुक्त नभएको बताए । सरकारी अनुगमन फितलो भएका कारण व्यापारीको ज्यादती उपभोक्ताहरूले सहनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । आन्तरिक उत्पादनबाहेक नेपाली खाद्य उद्यमीहरूले दाल र खानेतेलका लागि अस्ट्रेलिया, मलेशिया, क्यानडा र भारतलगायत देशबाट समेत कच्चा पदार्थ आयात गर्ने गर्छन् । चाडपर्व नजिकिँदै जाँदा खाद्यवस्तुको मूल्य बढ्दा आफूहरू समस्यामा परेको उपभोक्ताहरू बताउँछन् । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण आम्दानी शून्य भएको अवस्थामा खाद्यवस्तुको मूल्य बढ्दा न्यून आय भएका आफूहरू जस्ता उभोक्ता मारमा पर्ने गरेको कीर्तिपुरकी सुजाता महर्जनले बताइन् ।(आर्थिक अभियान)

 

Translate »