चौकुनेमा नागरिक आरोग्य केन्द्र सञ्चालन

स्काई न्यूज / असोज १९, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको झकमकेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले स्वास्थ्य चौकी गुटुमा सोमबार एक कार्यक्रमका वीच नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका छन् । उनले लामो समयदेखि आयुर्वेद औषधिको महत्व तथा योग, ध्यानलगायतका क्रियाकलाप प्रति नागरिकको बढ्दो चाँसोलाई मध्यनजर गरेर चौकुनेको झकमकेमा पहिलो पटक प्रदेश आयुर्वेद औषधालयको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको जानकारी दिए । ‘कोरोना महामारीले एक पटक पुर्नः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधाबारे नागरिकलाई धेरै उत्सुकता बढाएको छ,’ उनले भने, ‘अहिले पनि कोरोना संक्रमित ९० प्रतिशत नागरिकले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिको प्रयोग गरेर सञ्चो भएका छन् ।’ उनले आयुर्वेदको महत्व हिजो, आज र भोलि पनि रहने भएकाले नागरिकको माग अनुरुप नै गुटुको झकमकेमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्नु परेको स्पस्ट पारे ।

उनका अनुसार चौकुने गाउँपालिका प्रदेश तथा केन्द्र सरकारको सहयोगबाट गुटुमा कम्तिमा २५ शैयाको आयुर्वेद चिकित्सालय नै स्थापना गर्न प्रयासरत रहेको छ । ‘चौकुने प्राकृतिकरुपमै जडिबुटीको भण्डारण मात्र होइन, यहाँ प्रशोधन तथा विक्री वितरणको केन्द्र पनि बन्न सक्छ,’ उनले भने, ‘कर्णाली प्रदेशमै चौकुने जडिबुटी उत्पादन, भण्डार तथा संकलनका लागि उपयुक्त स्थान भएपनि सम्बन्धित पक्षको पर्याप्त ध्यान नपुग्दा ओझेलमा परेकाले गाउँपालिका अब आयुर्वेदको महत्वका बारेमा प्रचार प्रसारमा समेत जुट्ने छ ।’ उनले स्थानीय स्तरमै उत्पादित जडिबुटी स्थानीय स्तरमै खपत गरेर बचेको औषधि निर्यात गर्न सकिने सम्भावना तर्फ गाउँपालिका अग्रसर समेत रहेको जिकिर गरे । कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले चौकुनेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै आयुर्वेद औषधि अर्थात जडिबुटिको महत्व सर्वसाधारण बुझ्नेलाई अवसर जुटेको बताए । उनले चौकुनेमा आरोग्य सेवा केन्द्रलाई सफलरुपमा सञ्चालन गर्न स्थानीय तथा प्रदेश सरकारले समेत थप सहयोग गर्न आवश्यक रहेको औल्याए । त्यस्तै चौकुने गाउँपालिका वडा नम्वर ७, का अध्यक्ष अम्मरबहादुर विसीले चौकुनेमा आयुर्वेद औषधालय नहुँदा गाउँका सर्वसाधारण आयुर्वेद औषधिका लागि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि भारतको लखनऊसम्म पुग्ने गरेको जानकारी दिए । उनले गाउँमै नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि आयुर्वेद औषधिमा विश्वास राख्ने नागरिकलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । त्यस्तै वडा नं. ८, का अध्यक्ष ताराकेशर सुवेदीले नागरिक आरोग्य सेवा केन्द्रलाई सेवाग्राहीका लागि अधिक उपयोगी तथा लाभदायक बनाउन वडा कार्यालयबाट  सहयोग गरिने प्रतिवद्धता जनाए ।

यस्तै चौकुनेका वरिष्ठ समाजसेवी काशीराम देवकोटाले गाउँघरमै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि नागरिकलाई धेरै हदसम्म सहजता पुग्ने विश्वास व्यक्त गरे । गुटु स्वास्थ्य चौकीका प्रमुख ईन्चार्ज ईन्द्रबहादुर जैसुरीले नागरिक आरोग्य सेवा केन्द्रसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने जनाए । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले नेपाल सरकारले देशैभरी ३१८ वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा पहिलो पटक नागरिक आरोग्य सेवा स्थापना गरिएको जानकारी दिए । उनले नागरिक आरोग्य सेवा केन्द्र चौकुनेबाट सेवाग्राहीले आधारभूत सेवा अन्तर्गतका सेवासँगै जीवनशैली परिवर्तनका लागि योग, ध्यान, प्रणायाम, खानपिन, जडिबुटी एवं आयुर्वेद सम्बन्धिलगायतका सेवा उपलब्ध रहने बताए । उनका अनुसार चौकुनेमा प्रदेश तथा संघीय सरकारको सहयोग तथा समन्वयमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र स्थापना कार्यक्रममा प्रदेश आयुर्वेद औषधालयका कविराज निरीक्षक श्रीराम आचार्य, बैद्य निरीक्षक दिपेन्द्र कँडेल, लेखाअधिकृत प्रतिमा थानी, चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

Translate »