कोरोना महामारीकै बीच विद्यालय खुले

चौकुनेमा नियमित पठनपाठन शुरु

स्काई न्यूज / असोज १७, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका विद्यालय विस्तारै सञ्चालनमा आउन थालेका छन् । चौकुने गाउँपालिकाले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेको छ । चौकुने गाउपालिका क्षेत्र भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको असोज ५ गते बसेको बैठकले अध्ययन तथा अध्यापन शुरु गर्ने सिफारिस गरेपछि गाउँपालिकाको ११ गते बसेको बैठकले असोज १२ गतेदेखि नियमित विद्यालय खोल्न निर्देशन दिएको हो । गाउँपालिकाको निर्देशनपछि चौकुनेका सबै सामुदायिक विद्यालयहरुले असोज १२ गतेदेखि नियमित विद्यालय सञ्चालनमा ल्याएका हुन् । विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमवारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको चौकुने गाउँपालिकाले जानकारी दिएको छ ।

विद्यालय सञ्चालन गर्न यसअघि गाउँ शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ८ नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोतिसेराका प्रधानाध्यापक जगत जोशीले बताए । ‘हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी सोमवारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ’, उनले भने । बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई भदौं १४ गतेबाट नै ‘टोल शिक्षा’ को रुपमा टोलटोलमा नै गएर पढाउँदै आउँदै आएको जनाए । उनका अुनसार अहिले आएर सोमवारवाट प्रत्यक्षरुपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक जोशीले बताए । विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको जीवन ज्योती माविका कक्षा ९ का छात्र धिरेन बयकले बताए ।

‘बन्दाबन्दीका बेलामा घरमा बस्दा आफैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो’, उनले भने । परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको जीवन ज्योति मावि गुटुका प्रधानाध्यापक ओमबहादुर दर्लामीले बताए । ‘पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौं’, उनले भने, ‘कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० ओटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौं ।’ वडा नम्वर ८, का वडाध्यक्ष ताराकेशर सुवेदीले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । विद्यालय सञ्चालनमा आएसँगै गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आएका छन् । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उनले बताए । गाउँपालिकाभित्र सामुदायिक ४९ र संस्थागत ३ वटा विद्यालय रहेका छन् ।

Translate »