अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना संक्रमण

असोज १६,काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन् । यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए । उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए । साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो । बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन् । बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका थिए–‘छोटो समयको विश्राम समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड–१९ देखिएको छ । खराब भयो ।’ क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन ।दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ । बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए । (बीबीसी)

 

Translate »