पाग्मा, डोप्कासँगै दुबिचौरमा विद्युत पुग्यो

सुर्खेतमा ग्रामीण विद्युतीकरण कार्यक्रम

स्काई न्यूज / असोज १४, सुर्खेत ।
विकासले पछाडि पारिएको पश्चिम सुर्खेतका पाग्मा, डोप्कासँगै दुबिचौरमा पहिलो पटक विद्युत पुगेको छ । ग्रामीण विकासका लागि महत्वपूर्ण मानिएको ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत बुधबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले ११ केभीए विद्युतप्रसारण लाईन बराहताल गाउँपालिका–२, का पाग्मा, डोप्कासँगै दुबिचौरका साढे ३ सय घरमा विद्युत पु¥याएको हो । युगौंदेखि अँधेरोमा रात विताउँदै आएका त्यस क्षेत्रका बासिन्दाले पहिलो पटक विद्युतको उज्यालो घरको आँगनमै देख्न पाउँदा आफुलाई गौरवान्वित महसुस गरेका छन् । लामो समयको पर्खाई पछि गाउँ पुगेको विद्युतको उज्यालो हेर्न आएका स्थानीय भीमबहादुर साउद भने, ‘हाम्रा पुर्खाले दियालो बालेर दिन विताए, माहीले टुक्की, लालटेन हुँदै सोलर बालेर अँधेरी रात कटाएका थियौं । सरकारले गाउँमा ११ केभीए विद्युतप्रसारण लाईन पु¥याई दिएपछि हाम्रो खुशीको सीमा छैन् ।’ उनले अब गाउँमा विद्युत पुगेपछि कुटानी, पिसानीसँगै सिंचाईमा ठूलो सहयोग पुग्ने अपेक्षा राखें । उनका अनुसार गाउँमा विद्युत पुगेपछि बालबालिकाकालाई अध्ययन मात्र नभई अब सिधै ई–मेल, इन्टरनेटसँगै जोडिने अवसर उपलब्ध हुनेछ । बराहताल गाउँपालिका–२, का पाग्मा, डोप्का, सिस्नेरी, दुबिचौरमा लागु गरिएको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत बुधबार ११ केभीए विद्युत लाईन ट्रान्सफर जडानसँगै विद्युत उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सभा सांसद विन्दमान विष्टले लामो समयको पर्खाई पछि गाउँ पुगेको ११ केभीए विद्युतबाट नागरिकको जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले जनताको अपेक्षा अनुरुप नै विकासको गतिलाई अघि बढाउन आफु निरन्तर प्रयासरत रहेको बताए । पश्चिम क्षेत्रको विकास लागि आफु प्रतिवद्ध रहेको भन्दै गाउँमा विद्युतसँगै ईमेल, इन्टरनेट एवं सडक पहुँचको विस्तार गरिने उनको भनाइ थियो । ‘पश्चिम सुर्खेतका ९० प्रतिशत जनताले अहिलेसम्म विद्युत उपभोग गर्न पाएका छैनन्,’ उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रका सबै गाउँहरुमा विद्युत पहुँच विस्तारका लागि निरन्तर प्रयासरत रहेकाले छिट्टै नागरिक अपेक्षाहरु पुरा हुने छन् ।’ उनले नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुलाई नागरिकको माग अनुरुप पर्याप्त सेवा सुविधा विस्तारमा कुनै कमि नराख्न समेत अनुरोध गरे । उनका अनुसार यसअघि पश्चिम सुर्खेतका केही स्थानीय तहका टोलहरुमा स्थानीय नागरिककै लगानीमा विद्युत विस्तार भएकाले अब सरकारी लगानीबाटै विद्युत विस्तार गरिने योजना छ ।

पाग्मा, डोप्का, सिस्नेरी, दुबिचौर ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत चामुण्डा निर्माण सेवा सुर्खेतले २०७६ बैशाख २६ गते करिब एक करोड ६५ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण सम्झौंता गरेको थियो । सम्झौंताको १३ महिना भित्रै सक्नु पर्ने उक्त विद्युत प्रसारणलाईनको काम कोरोना महामारीलगायतका कारण तीन महिना ढिलोगरि सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखा प्रमुख टंकराज गिरीले जानकारी दिए । उनले गत असार २६ गते नै सम्पन्न हुनु पर्ने विद्युत प्रसारणलाईनको काम कोरोना महामारीका कारणले निर्माण सामाग्रीलगायतको सहज आपूर्ति तथा व्यवस्थापनमा समस्या भएकाले ढिलाई भएको जनाए । ‘पहिलो चरणमा ढिलाई भएपनि नागरिकको अपेक्षालाई पुरा गर्न गुणस्तरीय दिगो काम पुरा भएको छ,’ उनले भने, ‘अब प्राधिकरणले ग्राणीम विद्युतीकरण कार्यक्रमलाई थप निरन्तरता दिँदै आसपासका गाउँहरुमा समेत विद्युत लाईन विस्तारलाई तीव्रता दिनेछ ।’ उनले अँधेरोमा रात विताईरहेका ग्रामीण वस्तीहरुमा विद्युत पहुँच पुगेसँगै आर्थिक गतिविधिहरु बढेर नागरिकको दैनिकीलाई सहज बनाउन टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार अब केही दिनमै गाउँका सबै घरहरुमा विद्युत मिटर जडान कार्यलाई तीव्रता दिइने छ । उनले आगामी तीन वर्षभित्र जिल्लाका सबै वडा र टोलहरुमा विद्युत विस्तार गरिसक्ने योजना अगाडि सारेको जनाए । ‘विद्युत सेवाको पहुँचबाट पश्चिम सुर्खेतका गाउँहरु पछाडि रहेका छन,’ उनले भने, ‘एक्लै विद्युत प्राधिकरणले मात्र केही गर्न नसक्ने हुँदा यसको समाधानको लागि स्थानीय, प्रदेशसँगै केन्द्र सरकारको सहयोग अपरिहार्य रहन्छ ।’ उनले ग्रामीण क्षेत्रमा मागअनुरुप विद्युत सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नै ग्रामीण विद्युतीकरण कार्यक्रम लागु गरिएको जनाए ।

Translate »