सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

स्काई न्यूज / असोज १४, सुर्खेत ।
सबै कुरा ठिकठाक हिसाबले अघि बढेमा आउँदो सातासम्म जिल्ला प्रशासन कार्यालय सुर्खेतले राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने तयारी गरेको छ । अहिलेको नागरिकताको प्रतिस्थापन भनिएको यो ‘स्मार्ट कार्ड’ क्रमस जिल्लाका करिब ३ लाखले प्राप्त गर्नेछन् । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९, का कारणले ढिलाई भईरहेको परिचयपत्र वितरण कार्य अब छिट्टै शुरु गरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रिय परिचयपत्र वितरण कार्यको सम्पूर्ण तयारी पुरा भएपनि कोरोना महामारीका कारणले ढिलाई भइरहेको बताए । उनले आवश्यक सरसामाग्रीसँगै कर्मचारी व्यवस्थापन गर्ने कार्य पुरा भईसकेकाले अब छिट्टै व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाए । ‘जिल्लाका १६ वर्षदेखि माथि उमेर पुगेका नागरिकले जैविक तथा व्यक्तिगत विवरण र विद्युतीय चिप्स एवं सुरक्षासहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरी राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड पाउने छन,’ उनले भने, ‘प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरिएको परिचय पत्र वितरण गर्ने कार्य सुर्खेतमा कोरोना महामारीका कारणले ढिलाई भएको हो ।’

 

अहिले सम्पूर्ण आवश्यक उपकरणसहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण संकलनको काम अब केही दिनमै शुरु गरिने उनको भनाइ छ । ‘परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयंम आफ्नो सक्कलै नागरिकता र सम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर जिल्ला प्रशासन कार्यालय आउनु पर्नेछ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट शुरु हुने परिचय वितरण कार्य केही समय पछि जिल्लाका हरेका पालिकामा पुग्ने गरि तयारी भईसकेको छ ।’ उनले परिचय पत्रमा नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र समावेश गरिएको जनाए । उनका अनुसार परिचय पत्रमा व्यक्तिगत विवरणका साथै १० वटा औँलाको छाप, आँखाको रेटिना, परिचय नम्बर, फोटो, राष्ट्रियता ,हस्ताक्षर र चिप्स जस्ता विवरण समावेश हुने छन । राष्ट्रिय परिचयपत्र पाउनका लागि १६ वर्ष उमेर पुरा भएको र नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्नेछ । उक्त राष्ट्रिय परिचयपत्रले अपराध नियन्त्रण जस्ता क्रियाकलापमा समेत सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।

Translate »