धरौटी फिर्तासहित किरणले पाए सफाई

राज्य विरुद्धको कसुर आरोप माथि सुर्खेत जिल्ला अदालतको फैसला

स्काई न्यूज /असोज १३, सुर्खेत ।
त्रिभुवन विश्वविद्यालय सुर्खेत शिक्षा क्याम्पसका छात्र तथा सुर्खेतका चर्चित युवा समाजसेवी किरणप्रकाश विसीलाई सुर्खेत जिल्ला अदालतले सफाई दिएको छ । राज्यविरुद्धको कसुर आरोप लागेका विसीलाई मंगलवार सुर्खेत जिल्ला अदालतमा प्रल्हादकुमार योगीको ईजलासले धरौटीसहित फिर्ता हुने गरि फैसला सुनाएको हो । राज्य बिद्रोह आकर्षित हुने कुनैपनि गतिबिधिमा संलग्न नरहेको ठहर गर्दे अदालतले विसीलाई सफाई दिएको छ । अदालतले जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट दर्ता गराईएको राज्य विरुद्धको कसुर मुद्धा झुठ्ठा ठहर गर्दे धरौटी फिर्तासहित विसीलाई सफाई दिएको हो ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्थायी निवासी विसीले सफाई पाएसँगै उनले स्काई न्यूजसँग फोनमा भने, ‘देशमा कानून मरेको छैन् । न्याय पाउन देर लागेपनि अँधेर हुदैन । कानूनी राज्यमा नागरिक हैरान भएपनि पराजीत हुँदैन ।’ उनले आगामी दिनमा सत्यको पक्षमा वकालत गर्दे समाज तथा देशको समृद्धि लागि थप उत्साहका साथ अगाडि बढ्ने जिकिर गरे । ‘देशमा मिलेनियम च्यालेन्ज को–अपरेशन (एमसीसी) सम्झौंता गर्ने वा नगर्ने भन्ने बारेमा देशैभर चर्चा, परिचर्चा, बहस एवं छलफल भईरहेका बेला सुर्खेतमा पनि विभिन्न फोरम र विश्वविद्यालयस्तरमा त्यो चर्चा भयो,’ उनले भने, ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि मिलेनियम च्यालेन्ज को–अपरेशन (एमसीसी) बारेमा नागरिकले आ–आफ्ना फरक–फरक धारण र विचार प्रस्तुत गरिरहेका थियें । स्वतन्त्र विचार राख्न पाउनु लोकतन्त्रमा त्यो स्वाभाविक नै हो । मैलेपनि विभिन्न फोरममा आफ्ना विचार राखेंको सत्य हो । तर, त्यसरी स्वतन्त्र राखिएका विचार तथा धारणालाई सम्बन्धित पक्षले देशद्रोहीको रुपमा बुझिदिँदा आफुले मानसिकसँगै शारीरिक प्रतिकुलतासँग संघर्ष गर्नु पर्यो ।’ उनले मेरो जस्तै गरि अब आइन्दा कुनैपनि नागरिकले समाज एवं राष्ट्रको समृद्धिका लागि फरक विचार र धारणा प्रस्तुत गरे वापत जेल जाने चलनको अन्त्य गर्न आवश्यक रहेको औल्याए । उनका अनुसार सुर्खेत प्रहरीले प्रतिबन्धित विप्लव समूहको नेकपा माओवादीको कार्यकर्ता भएको आरोप लगाउँदै आफुलाई पक्राउ गरेको हो । विचारको लडाईमा विचारबाटै सजाय गर्नु पर्नेमा भौतिक कार्वाही गरिनु मानवता विरोधी कार्य भएको उनको ठहर  थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले २०७६ माघ १३ गते विसीलाई पक्राउ गरि राज्य विरुद्धको कसुरमा मुद्धा दर्ता गरेको थियो । प्रहरीले उनलाई जिप्रका सुर्खेतको हिरासतमा २७ दिन राखेपछि जिल्ला अदातल सुर्खेतले २०७६ माघ १३ गते उनलाई छोड्ने आदेश दियो । तर, सुर्खेत प्रहरीले अदालत हाताबाटै विसीलाई पुनः थप सोधपुछ गर्नुपर्ने भन्दै ईलाका प्रहरी कार्यालय छिन्चु, धनौली, मैनापोखरी र गुलरियासम्म पुगायो । विसीका अनुसार बाँके प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँकेमा बाधा विरोध गर्न नहुने मुद्धा चलायो भने बर्दिया प्रहरीले नैतिकता तथा हित विरुद्धको झुठ्ठा मुद्धा दायर गरेका छन् । ‘यहीं असोज १५ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा मुद्धाको अन्तिम फैसला हुने तय भएको छ भने असोज १६ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा तय भएको,’ उनले भने, ‘ति झुठ्ठा मुद्धाको फैसला के हुनी हो, मलाई थाहा छैन । तर, प्रहरीको नियत खराव भएपछि कतिसम्म दुःख दिँदा रहेछन्, भन्ने म एउटा प्रत्यक्ष जीवित साक्षी हुँ । मलाई प्रतिबन्धित विप्लव समूह नेकपा माओवादीको कार्यकर्ता भएको आरोप लगाउँदै मुद्धा हाले ।’ प्रहरीले विसीलाई सुर्खेतमा २७ दिन, बाँकेमा १४ दिन र बर्दियामा १६ दिन हिरासतमा राखेको थियो । सुर्खेत शिक्षा क्याम्पसका एमएड तेस्रो सेमेस्टरका विद्यार्थी विसीले यसअघि प्रहरी हिरासतबाटै एमएड दोस्रो सेमेस्टरको परीक्षा दिएका थिए । विसीले मंगलबार जिल्ला अदालत सुर्खेतबाट सफाई पाएसँगै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,’ ‘मैले अदालतबाट न्याय पाएको छु । यसवीच मलाई कठिन घडीमा कानूनी बाटो देखाएर सहयोग गर्ने अधिवक्ता खेमराज तिवारीसहितका कानूनविद्सँगै शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्दछु ।’ उनले स्वतन्त्र विचार अभिव्यक्ति गरेकै वापत आफुले भोग्नु परेझै अरुले भोग्नु् पर्ने दिन नआउन दिन आफ्ना आगामी दिनहरु समर्पित गर्ने जिकिर गरे ।

Translate »