घट्यो डेढ घण्टाको पैदल दूरी

असोज १३,सुर्खेत ।
बराहताल गाउँपालिका–१०, धनीगाडकी तनुजा सार्कीलाई पानी खान सहज थिएन। खानेपानीकै लागि उनी दैनिक डेढ घण्टाको दूरी पार गर्नुपथ्र्यो। धारामा हुने भिडले झनै घरको धेरै काम गर्न ढिला हुन्थ्यो । तर अहिले उनलाई नत घरको काम छुट्छ, न डेढ घण्टाको दूरी पार गर्नुपर्ने बाध्यता छ। ‘एक घर, एक धारा’ अभियानमार्फत उनको घरमा धारा बनेपछि खानेपानीका लागि दैनिक गर्नुपर्ने संघर्ष अन्त्य भएको छ। सोही वडास्थित जुगेधाराकी लक्ष्मी सलामी मगरको पीडामा पनि तनुजाको जस्तै थियो। अहिले उनलाई पनि खानेपानीका लागि दुःख हटेको छ। यहाँ रिन्यूएवल वल्र्ड नेपालको सहयोग र सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा सञ्चालित सोलार बहुउद्देश्यीय पानी प्रणाली तेस्रो परियोजनाअन्तर्गत यहाँ ‘एक घर, एक धारा’ निर्माण भएका छन्। आवश्यकतामा आधारित यहाँ उक्त परियोजना सुरु गरिएको थियो। ‘हाम्रो गाउँभन्दा तल पानीको मुहान छ,’ तनुजाले भनिन्, ‘डाँडोमा पानीको मुहान नहुँदा गाउँले सबै डेढ/दुई घण्टा हिँडेर पानी खान बाध्य थियौं।’ सौर्य ऊर्जाको प्रयोगबाट गाउँमै पानी आएपछि खानेपानीका लागि सहज भएको उनको भनाइ छ।

‘पानी आवश्यकतानुसार तानेर समुदायको सिरानमा टंकी (रिजभ्र्वायर) निर्माण गरी संकलन गरिएको छ,’ उनी भन्छिन्, ‘यसरी संकलन गरिएको पानीलाई उचित तरिकाले खानेपानी, सरसफाइ, पशुपालन, उत्पादनमूलक कार्य जस्तै लघु सिँचाइलगायतमा प्रयोग गर्छौं।’ यस कार्यक्रमको लक्ष्य भनेको ग्रामीण भेगका बासिन्दाका लागि पर्याप्त घरायसी तथा उत्पादनमूलक प्रयोगका लागि सौर्य उर्जा प्रविधिको प्रयोग गरी पम्पबाट पानी तानेर दैनिक प्रयोजन र जीविकोपार्जनका अवसर सिर्जना गरी आम्दानी वृद्धि गर्नु रहेको सुन्दर नेपाल संस्था सुर्खेतका सूचना अधिकारी खिम रेग्मीले बताए। उक्त परियोजनाअन्तर्गत हालसम्म ६ वटा परियोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएका छन् भने पाँचवटा परियोजना निर्माणको क्रममा रहेको उनको भनाइ छ ।

उक्त आयोजनाबाट हाल तीन सय एक घरधुरी लाभान्वित भएका सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले जानकारी दिए। २०७४ सालदेखि उक्त परियोजनाको काम थालनी गरिएको थियो। विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ जोखिमको प्रतिकार्यस्वरूप परियोजनाले सोलार बहुउद्देश्यीय खानेपानी प्रणालीसँगै राहत सहयोगको कार्य गरेको सुन्दर नेपाल संस्था सुर्खेतका कार्यकारी निर्देशक कँडेलले जनाएको छ। साथै जोवा र रिन्युएवल वल्र्डको सहयोग तथा सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा सञ्चालित सोलार बहुउद्देश्यीय खानेपानी प्रणाली परियोजनाअन्तर्गत सुर्खेत जिल्लाको बराहताल–६, इखेनी र पञ्चपुरी नगरपालिका–७, भक्तडीमा राहत सामग्री वितरण गरिएको छ। बराहताल–६, इखेनीका ८० घरधुरी र पञ्चपुरी नगरपालिका–७, भक्तडीका ८२ घरधुरीमा चामल, दाल, नुन, तेल, साबुनलगायतका सामग्री वितरण गरिएको छ।(नागरिक)

Translate »