किसानलाई कात्तिके बाली भित्र्याउने चटारो

असोज १३,सिमकोट ।
उच्च हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । किसानहरू यतिबेला फागुन चैतमा लगाएको बाली कोदो, चिनो फापरलगायतका कात्तिके बाली भित्र्याउन थालेका छन् । वर्षको एक बाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्र्याउन व्यस्त छन् । असोज कात्तिकमा भित्र्याएको कात्तिके अन्नले हिउँदको छ महिना घरपरिवारको हात मुख जोड्ने गरिन्छ । हिउँद महिनामा जिल्लामा हिमपात हुने र जिल्लाका जमिनमा पूरै हिउँले सेताम्मे हुने भएकाले आजभोलि भण्डारण गरेको अन्न हिउँदमा खाने गरिन्छ । किसानहरू आजभोलि बिहान ४ बजे नै खेतबारीमा पुगी रातिको १० बजेसम्म काम गर्ने गरेको पाइएको छ ।

जिल्लामा चिसो बढेकाले समयमै अन्न नभित्र्याए तुसारोले बालीमा लागेको फल झारिदिने र सुकाइदिने भयले किसानहरू रातदिन नभनी कात्तिके बाली भित्र्याउन थालेका हुन अन्न बालीसँगै हिउँदे मौसममा पशु चौपायाहरूको लागि पनि घाँस भण्डार गर्न थालिएको छ । मानिससँगै पशुको आहारा पनि भण्डारण गर्नुपर्दा किसानलाई कामको चटारो परेको हो । यो वर्ष हिउँदमा हिउँ ज्यादा परी खेतबारीमा भएको पातपतिङ्गर सडी गली राम्रो मल हुनुका साथै वर्षा मौसममा पनि समयसमयमा पानी पर्दा अन्नबाली राम्रो भएको स्थानीय लोग भण्डारीले बताए ।

 

Translate »