विवाद समाधान भइसक्दा अघि बढेन प्रशासनिक मार्गको काम

स्काई न्यूज / असोज १२,दैलेख ।
कामको शुरुआतमै विवादका कारण बन्द रहेको दैलेखको प्रशासनिक मार्ग अन्तर्गत ठाटीकाँध खण्डको काम सहमति भएको महीनौं बितिसक्दा पनि अघि बढ्न सकेको छैन । दैलेख क्षेत्र नं २ का तीन नगरपालिका र दुई गाउँपालिकाको विकासको मेरुदण्ड मानिएको ठाटीकाँध सडक खण्डको काम अलपत्र परेको छ । स्थानीय जनप्रतिनिधिबीचको खिचातानीका कारण सडक निर्माणले गति लिन नसकेको हो । २ वर्ष अघिदेखि जनप्रतिनिधिहरूले सडक आ–आफ्नो वडाबाट लैजाने होडबाजीले गर्दा सडक डिभिजनले काम गर्न नसकेको बताइएको छ । गत वैशाख पहिलो साता प्रशासनिक मार्गको भैरवस्थान–प्याडुल्ली खण्डको नयाँ ट्र्याक खोल्ने क्रममा वडा नं १ र २ का स्थानीयले आन्दोलन नै गरे । पछि प्रशासन र सडक डिभिजनले काम रोकेपछि पहिले उल्लेख गरिएकै ठाउँबाट सडक लैजाने सहमति भएको थियो । तर, काम अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । ठाटीकाँध–आठबीस खण्डमा पुर्वतिरबाट मटेलालाई जिरो प्वाइन्ट मानेर मटेल्ला–प्याडुली–भैरवस्थान–ठाटीकाँध–पाँचाला–आग्र हुँदै स्याउलेकाँध जोड्ने उल्लेख छ ।

यद्यपि, उल्लेख गरिए भन्दा फरक ठाउँ (पिपलचौतारा–प्याडुली)बाट सडक लैजाने गाउँपालिका अध्यक्ष शाही र वडाध्यक्ष रूप विश्वकर्माको स्वार्थले विगत १ वर्ष अघिदेखि सडकको नयाँ ट्र्याक खोल्न रोकिएको थियो । सडकको सहमति भएपछि पञ्चबडीमालिका निर्माण सेवा कम्पनीले कामको जिम्मा पायो । निर्माण कम्पनीले असारमा प्याडुल्लीतर्फ सडक खन्न शुरू गर्‍यो । बीचमा जंगल पर्ने भएकाले ठेकेदारले कुनै पनि प्रक्रिया नमिलाएको भन्दै वनका कर्मचारी र सडक डिभिजनद्वारा काम रोकिएको छ । पञ्चबडीमालिका निर्माण सेवा कम्पनीका प्रतिनिधि राजेन्द्रबहादुर शाहीले काम रोकिएको बताए । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले ‘ठेक्काको क्वालिटी नपुगेकाले अहिले काम रोक्न लगाइएको र काम गरिएको भन्दा कम रकम भुक्तानी दिइएको बताए । ‘त्यहाँ करीब ८० लाख बराबरको ठेक्का परेको थियो । यद्यपि, कम्पनीले घटेर ठेक्का लिएको थियो,’ उनले भने, ‘हामी यो काम आजसम्म सम्पन्न गरिसक्थ्यौं । जनप्रतिनिधिबीचको विवादले ढिलाइ भएको हो ।’
ट्र्याक खोल्नै १३ वर्ष बित्यो
२०६४ सालमा आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यसहित दैलेख सदरमुकाम–राकम कर्णाली जोड्ने छोटो मार्गको रूपमा काम अघि बढ्यो । त्यो बेला क्षेत्रीय सडकको रूपमा अघि बढेको सडकको हालसम्म खण्ड–खण्डमा ट्र्याक खोल्ने र एकसरो कच्ची सडकमा सीमित छ । पहिलो वर्ष सडकले रू। ७४ लाख पाएपछि राकम–तीलेपाटा आसपास क्षेत्रसम्म ट्र्याक खोलिएको प्रतिनिधिसभा सांसद राजबहादुर बुढाले बताए । त्यो बेलामा बुढा सभासद् थिए । ट्र्याक खोल्ने कार्य अझै जारी छ । देश संघीय संरचनामा आइसक्यो, उक्त सडकको स्तरोन्नति हुन सकिरहेको छैन । सडकमा पूर्णरूपमा साना–तिना गाडी चल्न सक्ने अवस्था पनि नभएको स्थानीय बताउँछन् । शुरुआतदेखि हालसम्मको अवधिमा चारपटक शीर्षक बदलिएको छ । २०६४–७० सम्मको अवधिमा केन्द्रबाट दुईपटक सडकको शीर्षक नै हटाइएकको सांसद बुढाले बताए । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट लक्ष्मीप्रसाद पोखर निर्वाचित भए र सडकको शीर्षक परिर्वतन भएर प्रशासनिक मार्गको रूपमा समेटियो । अहिले पनि प्रशासनिक मार्ग भनेर नै चिनिन्छ । हालसम्म चामुण्डाबिन्द्रासैनी नगरपालिका अन्तर्गत पर्ने बुडेली–हाडाको–मटेलासम्मको नयाँ ट्र्याक खोलिएको स्थानीय बुद्धिजीवी निरक शाहीले बताए । सांसद बुढाका अनुसार हालसम्म सडकमा करीब १५ करोड रुपैयाँ बराबरको काम भएको छ । गतवर्ष ठाटीकाँध गाउँपालिकाको बजार–स्याउँलेकाँध, ठाटीकाँध– भैरवस्थान स्तरोन्नति गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ । सडकले गति लिन नसक्नुको मुख्य कारण राज्यबाट बजेट उपेक्षित मात्रामा आउनु देखिएको छ । सडकमा कहिले १, कहिले २ करोड त कहिले केन्द्रबाट शीर्षक नै हटाउने गरिएकाले कामले गति लिन नसकेको सरोकारवालाको भनाइ छ । चालू आवदेखि यो सडकलाई ‘एक निर्वाचन क्षेत्र एक सडक’ शीर्षकमा समेटिएको सांसद बुढाले जानकारी दिए ।अब हामी स्तरोन्नतिमा लाग्नेछौं,’ उनले भने ।

 

Translate »